माघे संक्रान्तिमा विविध कार्यक्रम



काठमाडौं, (नेस)
माघे संक्रान्ति पर्वको उपलक्ष्यमा गोरखाको आरुघाटमा आरुघाट युवा क्लवद्वारा आयोजना गरिएको गोरु जुधाई तथा विभिन्न सांस्कृतिक कार्यक्रम गरियो।

कार्यक्रमको मुख्य प्रायोजक रिलायन्स फाइनान्सका अध्यक्ष धर्मेन्द्रकाजी श्रेष्ठद्वारा प्रमुख आतिथ्यमा उक्त कार्यक्रमा यसपटक सात हल गोरु जुधाइएको थियो। गोरु जुधाउनुका साथै स्थानीय कला संस्कृतिसहित विभिन्न मनोरञ्जन कार्यक्रम गरेर माघे संक्रान्ति मेला मनाइएको थियो। लामो समय जुध्ने विजयी गोरु धनीलाई सात हजार पाँच सय रुपियाँ तथा अन्य विजयी गोरु धनीलाई छ हजार पाँच सय रुपियाँ र अन्य सहभागी तथा हार्ने गोरुधनीलाई जनही एक हजार पाँच सय रुपियाँ नगद पुरस्कार प्रदान गरिएको थियो। कार्यक्रममा आर्थिक सहयोग गर्नुहुने संघसंस्थाहरूलाई समेत सम्मान तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो।

आरुघाटको गोरुजुधाई मेलालाई प्रोत्साहन गर्ने उद्धेश्यले फाइनान्सले ५० हजार रुपियाँ सहयोग गरेको थियो। परम्परागत संस्कृतिलाई निरन्तरता दिनुपर्ने र यसलाई राष्ट्रिय पर्वका रूपमाराज्यले विकास गर्नुपर्ने कुरालाई श्रेष्ठले जोड दिँदै आगामी वर्षहरूमा पनि त्यसका लागि आफूले सक्दो सहयोग गर्ने दृढता व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्