टोल–टोलमा फल्म


काठमाडौं महा नगरपालिकाले सहरभित्र फिल्म संस्कृतिको विस्तार गर्ने उद्देश्यले टोल–टोलमा फिल्म महोत्सव सञ्चालन गर्ने भएको छ। यसका लागि महानगरले इच्छुक सामुदायिक संघ–संस्थाबाट प्रस्ताव आह्वान गरेको छ।

महानगरको सम्पदा तथा पर्यटन विभागले सार्वजनिक सूचना जारी गर्दै सामाजिक तथा सांस्कृतिक गतिविधिमा सक्रिय गैरनाफामूलक संघ–संस्था, युवा क्लब, सामुदायिक संस्था, टोल विकास समिति तथा सांस्कृतिक समूहलाई महोत्सव सञ्चालन तथा व्यवस्थापनका लागि प्रस्ताव पेश गर्न आग्रह गरेको हो। महोत्सवका लागि टोल, बहाल, चोक, नदी किनार, एम्फिथिएटर तथा पार्कजस्ता खुला स्थान छनोट गर्न सकिने जनाइएको छ।

महोत्सवका क्रममा क्युरेटेड फिल्म प्रदर्शनका लागि एलईडी स्क्रिन, साउन्ड सिस्टमलगायत आवश्यक प्राविधिक सहयोग महानगरले उपलब्ध गराउनेछ। यो अभियानले सहरभित्र फिल्म संस्कृतिलाई अझ नजिक ल्याउने र स्थानीय समुदायमै फिल्म हेर्ने अनुभव विस्तार गर्ने लक्ष्य राखिएको महानगरले जनाएको छ।

यस वर्षको कान्स फिल्म फेस्टिभलमा सहभागितापछि कार्यक्रमलाई अघि बढाइएको उल्लेख गर्दै महानगरकी कार्यवाहक प्रमुख सुनीता डंगोलले यो अभियान फिल्मलाई सडक र टोलसम्म पु¥याउने ऐतिहासिक प्रयासका रूपमा स्थापित हुने विश्वास व्यक्त गरेकी छन्।