किन्दाओको जर्मन विरासत र व्यापारिक अनुभव

376
Shares

गतवर्ष सन् २०२५ अक्टोबरमा व्यापारिक सिलसिलामा चीन जाने अवसर मिल्यो । चीनको भ्रमण धेरैपटक गरे पनि पहिलोपटक म पूर्वी उत्तरी शहर किन्दाओ जाँदै थिएँ । काठमाडौँबाट एयर चाइनाको विमान चढी हामी छेन्दु अवतरण ग¥यौँ । चीनको भ्रमण जहिले पनि भागदौडपूर्ण हुने भएकाले यसपटक अलि सहज बनाउन दीपकजी र मैले छेन्दुमा एकरात बस्ने निर्णय गरेका थियौँ । हामीले एयरपोर्टभित्रै रहेको होटलमा कोठा बुक गरेका थियौँ ।

चीनमा मलाई लागेको कुरा के भने, भारतमा जस्तो होटलको कोठा पाउन गाह्रो छैन । दिल्लीको एरोसिटीमा रहेका होटलहरूमा कोठा पाउनै गाह्रो मात्र होइन, चीनभन्दा महँगा पनि छन् । चीनको जनसंख्या भारतको बराबर भए पनि व्यापारिक आवतजावत चीनमा अझ बढी छ । तर पनि होटलहरू सहजै र सुलभ मूल्यमा पाइन्छन् । मलाई लाग्छ, चीन सरकारले यस विषयमा विशेष ध्यान दिएको छ, ताकि व्यापार व्यवसाय प्रोत्साहन गर्न आउने व्यापारीहरूलाई सहजता महसुस होस् ।

भोलिपल्ट सबेरै हामी हिँड्दै एयरपोर्टतिर लाग्यौँ र जिनानको लागि प्लेनमा चढ्यौँ । जिनान शहर पृथ्वीको उत्तरी गोलार्धमा रहेको छ र साङ्डुङ प्रान्तको राजधानी हो । बिहानै हामी जिनान अवतरण गर्दा साह्रै चिसो महसुस ग¥यौँ । मौसम पनि त्यति सफा थिएन, घाम लागेको थिएन । लगेज लिएर हामी एयरपोर्टबाट बाहिर निस्किँदा मिस झिएन हामीलाई पर्खिरहेकी रहिछिन् ।

मीठो मुस्कानले स्वागत गरिन् । सानो कदको स्कुले विद्यार्थीजस्तो देखिने मिस झिएन बारम्बार नेपाल आइरहने गर्छिन् । उनलाई अङ्ग्रेजी बोल्न र बुझ्न अलि गाह्रो हुने र हामीलाई चाइनिज बुझ्न गाह्रो हुने हुनाले हामी कतिपय कुराहरु इशारामै बुझ्ने र बुझाउने गर्दछौँ । हामी मिस झिएनलाई पछ्याउँदै पार्किङतिर लाग्यौँ र कालो बक्सवगन कारमा चढी हाम्रो चाइनाको पहिलो औपचारिक गन्तव्य ल्याओचेनतिर प्रस्थान ग¥यौँ, जुन जिनानबाट लगभग ४० मिनेटको दूरीमा रहेछ ।

ल्याउँचेनमा पहिले होटल चेक इन ग¥यौँ र १० मिनेटको अन्तरालमै झोङतोंन्ग बस फ्याक्ट्रीतिर लाग्यौँ । झोङतोंन्ग बस फ्याक्ट्री सन् १९५८ बाट शुरु भएको रहेछ । यो बस कम्पनी हाल चीनको मात्रै नभएर विश्वकै ठूलो बस बनाउने कम्पनीहरूमध्ये एक पर्दो रहेछ । २६० भन्दा बढी बसका मोडलहरूसहित विश्वका ९० भन्दा धेरै देशहरूमा आफ्नो बस बेचिसकेको छ ।

९ लाख ३४ हजार वर्गमिटरमा फैलिएको विशाल कारखाना, ४ हजारभन्दा धेरै कामदारहरू भएको यस उद्योगबाट दैनिक विभिन्न मोडलका बसहरू अत्याधुनिक उपकरणहरूको माध्यमबाट उत्पादन हुँदा रहेछन् । साङ्दुङ हेभी इन्डस्ट्रिज ग्रुपअन्तर्गत रहेको यस बस कम्पनी एउटा महत्त्वपूर्ण अङ्ग रहेछ । यस ग्रुपले आफूलाई चाहिने लगभग सम्पूर्ण पाट्र्स पुर्जाहरुदेखि कम्पोनेन्टहरु आफैँ बनाउँदा रहेछन् ।

फ्याक्ट्री पुग्दा सबैभन्दा पहिले खानपिनको व्यवस्था गरेका रहेछन् । हामीलाई पनि हल्का भोक लागिरहेको थियो । बिहानैदेखि यात्रा गरिरहेको हुनाले खाना खाने समय पाएका थिएनौँ । हामीलाई सीधै चमेना गृह लगियो । विशाल कारखानाको चमेना गृह पनि स्टार होटलको रेस्टुरेन्टभन्दा कम थिएन । नेपाल हेर्ने बजार व्यवस्थापक मिस फ्यान्डी त्यहीँ हामीलाई पर्खिरहेकी थिइन् र स्वागत गरिन् । संक्षिप्त भलाकुसरी सकाएपछि चारैजना गोलो डाइनिङ टेबलमा लन्चको लागि वरिपरि बस्यौँ ।

मलाई चाहिँ चाँडो खानपिन सकाएर फ्याक्ट्री घुम्ने कौतुहल बढिरहेको थियो । शायद मेरो जिज्ञासु अथवा इन्जिनियरिङ पृष्ठभूमिले गर्दा पनि होला केही जान्ने, केही सिक्ने र केही बुझ्ने हतारो भइरहेको थियो । तर चाइनिज सत्कार र संस्कारअनुसार हामी जम्मा चारजनाको लागि घुम्ने टेबलमाथि बीसौँ जनालाई पुग्ने खानाहरूका विभिन्न परिकारहरु सजाइएका थिए । हामी बिस्तारै गफ गर्दै चपस्टिकले एउटा–एउटा परिकारहरु टिप्दै आफ्नो प्लेटमा राख्दै आफ्नो भोक मेटाउनुभन्दा पनि विभिन्न नयाँ–नयाँ परिकारको स्वाद र अनुभव लिइरहेका थियौँ ।

लगभग एक घण्टा खर्चेर हामीले आधाभन्दा धेरै परिकारहरु जुठो मात्रै लगाएर बर्बाद ग¥यौँ । मानौँ हामीले खानुभन्दा धेरै त खाना बर्बादै गरेका थियौँ । शायद यही नै अहिलेको आधुनिक चीनको चलन होला । एउटा सोच यस्तो पनि हुन सक्छ– ‘कुनै समय भोकमरीबाट गुज्रिएको चीन आज विश्वसामु देखाउन चाहन्छ कि आर्थिक उन्नति र प्रगतिका बाटोबाट उच्च समृद्धि हासिल गर्ने लक्ष्यमा छौँ । हामीसँग प्रगतिशील प्रविधि छन् र सम्पन्नताको पराकाष्ठा प्रदर्शित गर्न सक्ने क्षमता छ ।’

१७ अक्टोबरको बिहानै हामी ल्याउँचेनबाट बुलेट ट्रेन चढी किन्दाओतर्फ लाग्यौँ । बुलेट ट्रेन औसत ३०० किलोमिटर प्रतिघण्टाको गतिमा दौडिरहेको थियो र हामी करिब साढे चार घण्टामा किन्दाओ शहर पुगेका थियौँ । त्यति लामो यात्रा तय गर्दा पनि कुनै थकावट महसुस भएन । वास्तवमा, मलाई हवाई यात्राभन्दा बुलेट ट्रेनको यात्रा सुरक्षित र आरामदायी लाग्छ । यदि हवाई यात्रा र बुलेट ट्रेनबीच विकल्प छ भने, म प्रायः बुलेट ट्रेनलाई नै प्राथमिकता दिन्छु ।
ट्रेन स्टेसनबाट हामी बाहिर निस्कियौँ । सिमसिम पानी परिरहेको थियो । घाम लागेको थिएन र चिसो सिरेटोले हामीलाई किन्दाओमा स्वागत ग¥यो ।

कम्पनीले पठाएको गाडीमा चढी हामी भोलिको कार्यक्रम स्थलतर्फको होटलतिर लाग्यौं । किन्दाओ शहरको बीचैबीच हुँदै लगभग २५–३० मिनेटको दूरी तय गर्दै समुद्री किनारमा रहेको सुन्दर होटलमा पुग्यौँ । यस ट्रेन स्टेसनबाट होटलसम्मको दूरी तय गर्दा दायाँ–बायाँका घरहरु, बाटोहरू, चोकहरु र शहरको बनावट अरु चाइनिज शहरहरुको भन्दा अलि फरक पाएँ । शहरका भित्री बाटोहरू ढुङ्गा बिछ्याइका युरोपेली शैलीका थिए ।

शहरबीचका पुराना बिल्डिङहरु गोथिक वास्तुकलामा आधारित र नियो क्लासिक ग्रिक रोमन शैलीका थिए । चोकहरूको बनावट झट्ट हेर्दा युरोपेली शैलीका देखिन्थे । मानौँ यस्तो लाग्थ्यो कि चीनमा होइन, हामी युरोपको कुनै प्रसिद्ध शहरमा छौँ । एकपटक त मलाई यस्तो पनि लाग्यो कि चीन नक्कल गर्नमा माहिर छ र उसले आफ्नो एउटा शहरलाई चाहिँ पूरै युरोपेली शैलीमा विकास गर्नको लागि युरोपेली वास्तुकला र शहरी बनौटको नक्कल गरेर बनाएको रहेछ ।

मेरो तीनदिने बसाइको क्रममा यस शहरको इतिहास अझ बढी बुझ्ने मौका पाएँ । किन्दाओ शहर चीनको पूर्वी क्षेत्रमा पर्ने सानडोङ प्रान्तको एक प्रमुख र सुन्दर तटीय शहर हो । सन् १८९८ देखि १९१४ सम्म यो शहर जर्मन उपनिवेशमा थियो, जसले गर्दा यहाँका पुराना घर र भवनहरूमा स्पष्टरूपमा जर्मन वास्तुकलाको प्रभाव देखिन्छ । जर्मनहरूले एउटा सामान्य गाउँलाई आधुनिक शहरमा परिणत गरे ।

उनीहरूले यहाँ चौडा सडक, ढल निकास, पानीको आपूर्ति र रेलमार्ग निर्माण गरे । आज पनि देखिने युरोपेली शैलीका रातो छाना भएका घरहरू यसै समयका देन रहेछन् । सन् १९०३ मा प्रसिद्ध ‘सिङ्ताओ बियर’ को स्थापना जर्मन प्रविधिमा भएछ र जुन आज विश्वभर प्रसिद्ध छ ।

इतिहासको विभिन्न कालखण्डमा यो शहर कहिले जर्मनीको अधीनमा त कहिले जापानिजहरूको अधीनमा रहन पुगेछ । सन् १९४९ जुन २ तारिखका दिन चाइनिज कम्युनिस्ट पार्टीका सेनाले जापानबाट यो शहरलाई मुक्त गराई फेरि जनवादी गणतन्त्र चीनको अधीनमा ल्याएछन् ।

आज किन्दाउ आफ्नो जर्मन विरासत, अत्याधुनिक बन्दरगाह र सिङ्ताओ बियरको कारण चीनको एक प्रमुख आर्थिक र सांस्कृतिक केन्द्रका रूपमा चिनिदो रहेछ ।भोलिपल्ट औपचारिक कार्यक्रम साङ्दुङ हेभी इन्डस्ट्रिजको डिलर कन्फ्रेन्स थियो । दीपकजी र मैले बेलुकाको डिनर सकाएर कोट–पाइन्टमा आइरन गर्ने निधो ग¥यौँ । आ–आफ्नो कोठामा खोज्दा पनि आइरन र आइरन बोर्ड देखिएन । मैले रिसेप्सनिस्टलाई फोन गरेर सोधेँ तर उसले कोठामै छ भन्यो । फेरि मैले कोठामा सबैतिर खोजे देखिन । उता दीपकजीको पनि उही हाल रहेछ । फेरि मैले रिसेप्सनमा फोन गरेर सोधेँ र उसले एउटा मान्छे पठाइदियो ।

त्यो मान्छेले सानो पोकामा दराजभित्र रहेको झोलाबाट निकालेर दियो । हामीले सोचेको भन्दा अलिक फरक किसिमको चाहिँ स्टीम आइरन रहेछ यो । ह्याङ्गरमा लुगा झुन्ड्याएर पानीको बाफले मात्रै आइरन गर्नुपर्ने रहेछ । मैले विदेशतिर कपडाको सोरुमहरुमा अलि योभन्दा ठूलो स्टिम आइरनले हल्काफुल्का क्रिज नचाहिने टिसर्टहरुमा आइरन गरेको देखेको थिएँ । तर कोट–पाइन्टमा धारिलो क्रिज लाउनुपर्ने ठाउँमा अब स्टिमले मात्रै कसरी हुन्छ होला भन्ने प्रश्न मनमा जाग्यो ।

‘नहुनुभन्दा कानो मामा नै निको’ भनेझैँ हामीले त्यही सानो स्टिमबाट खुम्चिएको कपडालाई तनक्क तन्काउने प्रयास ग¥यौँ । भोलिपल्ट अरुले पनि कसरी गरेछन् भनेर यसो हेर्दा फान्डी र झिएनको पाइन्टहरू त क्रिजको लागि भनेर नै सिलाएको हुँदो रहेछ र आइरन गरिरहनु नपर्ने रहेछ ।

यस यात्राको सबैभन्दा महत्त्वपूर्ण दिन आज ब्रेकफास्ट सकाएर प्रदर्शनी स्थलतिर लाग्यौँ । विश्वभरबाट साङडुङ हेभी इन्डस्ट्रिजअन्तर्गतका विभिन्न ब्रान्डहरुका डिलर र विशेष ग्राहकहरूलाई आमन्त्रण गरिएको रहेछ । लगभग २ हजारजनाको उपस्थितिमा औपचारिक कार्यक्रम गरिएको थियो ।

प्रदर्शनी स्थलमा साङ्डुङ हेभी इन्डस्ट्रिजका विभिन्न ब्रान्डका उपकरणहरू प्रदर्शनीमा राखिएका थिए । यो आफैँ एक विशाल ठूलो चाइनिज कम्पनी भएको हुनाले एकल प्रदर्शनी थियो । यस कम्पनीअन्तर्गतका विभिन्न ब्रान्डहरुका विभिन्न उत्पादनहरू प्रदर्शनीमा थिए । मानौँ, यस्तो लाग्थ्यो कि एउटा यो कुनै अटो अथवा हेभी इक्युपमेन्टको औपचारिक प्रदर्शनी छ ।

साङ्डुङ हेभी इन्डस्ट्रिजचाहिँ साङ्डुङ प्रान्त सरकारको रहेछ । यो एउटा सरकारी कम्पनी भएको जानकारी हामीले पायौँ । यस औपचारिक कार्यक्रममा सरकारी निकायका विभिन्न पदाधिकारीहरु र कम्पनीका उच्चस्तरीय व्यक्तित्वहरुले आगामी दिनका व्यापारिक रणनीतिहरु घोषणा गरेका थिए । विगत छोटो समयमा यस कम्पनीले ठूलो सफलता हासिल गरेको रहेछ । चीनले आफ्नो देशका कम्पनीहरूको उत्पादनलाई विश्वबजारमा पु¥याउनको लागि विभिन्न प्रकारका व्यापारिक उपकरणहरू बनाएका रहेछन् । जसमध्ये सिनो सियोर एउटा गतिलो उपकरण लाग्यो । यस सिनो सियोरले वैदेशिक व्यापारमा हुन सक्ने सम्पूर्ण जोखिम जस्तै– भुक्तानीको समस्या इत्यादिको जोखिम भार आफ्नो जिम्मामा लिने रहेछ ।

कुनै समय नेपालजस्तै अति कम विकसित मुलुक रहेको चीन आज विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको देशको रूपमा स्थापित भइसकेको छ । विगत ४० वर्षको अन्तरालमा यति ठूलो आर्थिक फड्को मारिसकेको देशमा उद्योग व्यवसाय सरकार र राज्य आफैँले पनि व्यवस्थित एवं सफलरुपमा सञ्चालन गरेको छ । तर नेपालमा चाहिँ सरकारले व्यापार व्यवसाय गर्नुहुँदैन भन्ने भाष्य स्थापित गरिएको छ । तसर्थ चीनको उदाहरणलाई हेरेर सरकार, निजी क्षेत्र र दुवैको संयुक्त प्रयासमा विकासका ढोकाहरू खोल्दै समृद्धिको बाटोमा सहयात्रा गरी अगाडि बढ्नु नै उच्चतम विकल्प हुन सक्छ ।

(लेखक श्रेष्ठ एक व्यावसायिक इन्जिनियर हुनुहुन्छ ।)