काठमाडौँ ।
ईलेक्ट्रिकल ईन्जिनियरहरूको राष्ट्रिय संस्था सोसाइटी अफ ईलेक्ट्रिकल ईन्जिनियर्स नेपाल (सीन) को अध्यक्षमा ईं दिल्लीरत्न शाक्य निर्विरोध निर्वाचित हुनुभएको छ ।
सीनको आइतबार सम्पन्न वार्षिक साधारणसभाले १४औं कार्यसमितिका सबै पदाधिकारी निर्विरोध निर्वाचित गरेको छ । सीनको ३०औं वार्षिक साधारणसभाले उपाध्यक्षमा ई. सुबेध शर्मा, महासचिवमा ई. थर्कबहादुर थापा, सचिवमा ई. ओमसागर बञ्जारा, कोषाध्यक्षमा ई. सूर्यरत्न ताम्राकार र सदस्यहरूमा ई. ताराप्रसाद प्रधान, ई. दिपा श्रेष्ठ, ई. आशा खनाल, ई. रौशनकुमार गुप्ता, ई. मनिषा शाही ठकुरी, ई. सञ्जयलाल मानन्धर, ई. निमेषलाल श्रेष्ठ र ई. सागरमणी ज्ञवालीलाई निर्विरोध निर्वाचित गरेको हो ।

सन् १९९५ मा स्थापना भएको सीनले स्थापना कालदेखि नै विद्युत विकासका विविध क्षेत्रमा अध्ययन अनुसन्धान गर्दै नेपाल विद्युत प्राधिकरणलाई नीति निर्माणका लागि सल्लाह र सुझाव दिंदै आएको छ । सीनका ईन्जिनियरहरूले काठमाडौं महानगरपालिकालाई महानगरभित्र निर्माण हुने भवनहरूलाई विद्युत दुर्घटनाबाट जोगाउन सुरक्षित हाउस वायरिङको विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ । त्यसैगरी सीनले विद्युतबाट हुने दुर्घटनाबारे सचेतना जगाउन प्रत्येक वर्ष चैत २६ गते विद्युतीय सुरक्षा दिवस मनाउँदै आएको छ ।

तीन सयभन्दा बढी आजीवन सदस्य रहेको यस संस्थाले विद्युत विकासका लागि थिंक ट्यांकको रुपमा काम गर्दै आएको छ । पछिल्लो समयमा सीनले राष्ट्रिय विद्युत प्रणालीमा थपिने अतिरिक्त विद्युत खपतका लागि आन्तरिक खपतका सम्भाव्य क्षेत्रहरूको पहिचानका लागि विभिन्न गोष्ठी तथा छलफलको आयोजना गर्दै आएको छ ।`











प्रतिक्रिया