आँखुखोला जलविद्युत कम्पनीको १७औं र १८औं संयुक्त वार्षिक साधारणसभा सम्पन्न


काठमाडौं ।

आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको १७औं र १८औं संयुक्त वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ सम्बन्धी विभिन्न प्रस्तावहरू पारित गर्दै कम्पनीको भावी योजनाबारे पनि छलफल गरेको छ।

साधारणसभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को वार्षिक प्रतिवेदन अनुमोदन गरेको छ। साथै लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरूमाथि छलफल गरी पारित गरेको कम्पनीले जनाएको छ।

त्यसैगरी, कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाबाट स्वीकृत भएको छ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट हकप्रद सेयर निष्कासनको स्वीकृति प्राप्त गरी निष्कासन तथा बाँडफाँट प्रक्रिया सम्पन्न गरेको जनाएको छ। हकप्रद सेयरबाट संकलित रकममध्ये करिब ४० करोड रुपैयाँ बैंक ऋण भुक्तानीमा प्रयोग गरिने कम्पनीको योजना रहेको छ।

सभामा कम्पनीले नयाँ लगानी परियोजनाका रूपमा गणेश हिमाल हाइड्रोपावर लिमिटेडअन्तर्गत निर्माणाधीन आँखुखोला–२ जलविद्युत आयोजनालाई प्राथमिकतामा राख्दै पूर्वप्रतिबद्धताअनुसार लगानीलाई निरन्तरता दिएको जानकारी गराएको छ।

कम्पनीले करिब १२ वर्षअघि आँखुखोला–१ जलविद्युत आयोजना सफलतापूर्वक निर्माण सम्पन्न गरी उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिसकेको जनाएको छ। उक्त आयोजनाले कम्पनीलाई ऊर्जा उत्पादन क्षेत्रमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको कम्पनीको भनाइ छ।

कार्यक्रममा कम्पनीका अध्यक्ष राम श्रेष्ठ ले कम्पनीका उपलब्धि, चुनौती तथा आगामी रणनीतिबारे धारणा राख्दै आँखुखोला जलविद्युत कम्पनीले ऊर्जा उत्पादन तथा विद्युत् क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताए।

उनले कम्पनीको सफलतामा लगानीकर्ता, कर्मचारी, स्थानीय समुदाय तथा सरोकारवाला निकायहरूको निरन्तर सहयोग र सहभागिता महत्वपूर्ण रहेको उल्लेख गरे। अध्यक्ष श्रेष्ठले आगामी दिनमा उत्पादन क्षमता विस्तार, संस्थागत सुदृढीकरण तथा सेवा प्रभावकारिता अभिवृद्धिमा कम्पनी केन्द्रित रहने प्रतिबद्धता व्यक्त गरे।

स्वच्छ तथा दिगो ऊर्जाको उत्पादन वृद्धि गर्दै राष्ट्रिय ऊर्जा सुरक्षामा निजी क्षेत्रको योगदान अझ महत्वपूर्ण बन्दै गएको उल्लेख गर्दै उनले ऊर्जा क्षेत्रको विकासमा कम्पनीले थप सक्रिय भूमिका निर्वाह गर्ने बताए।

सभामा कम्पनीका पदाधिकारी, कर्मचारी, सेयरधनी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो। सो अवसरमा कम्पनीको हालसम्मको प्रगति, उपलब्धि तथा भावी योजनाबारे विस्तृत जानकारी पनि प्रस्तुत गरिएको थियो।