कांग्रेस–एमालेका लागि चेतावनीको घण्टी


नेपालका दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमाले यति बेला सदस्यता अद्यावधिक तथा नवीकरण अभियानमा जुटेका छन् । संगठनलाई थप सुदृढ बनाउने, निष्क्रिय सदस्यलाई पुनः सक्रिय बनाउने र डिजिटल प्रविधिमार्फत पार्टी संरचनालाई व्यवस्थित गर्ने उद्देश्यले सञ्चालन गरिएको यो अभियानको महत्व सामान्य छैन । कुनै पनि राजनीतिक दलको वास्तविक शक्ति केवल निर्वाचन परिणामबाट मात्र होइन, त्यसको संगठनात्मक संरचना, सदस्यहरूको सक्रियता र कार्यकर्ताको मनोबलबाट पनि मापन गरिन्छ । तर हाल देखिएको अवस्था भने दुवै दलका लागि उत्साहजनक छैन । कांग्रेसले लाखौं क्रियाशील सदस्य रहेको दाबी गर्दै आएको छ । तर महिनौंदेखि सञ्चालन भइरहेको सदस्यता अद्यावधिक अभियानमा हालसम्म करिब ५ लाख ७० हजार सदस्य मात्र अद्यावधिक प्रक्रियामा सहभागी हुनु आफैँमा प्रश्न उठाउने विषय बनेको छ । एमालेले पनि आफ्नो संगठित सदस्य संख्या करिब ६ लाख ७८ हजार रहेको बताउँदै सदस्यता नवीकरण अभियान अघि बढाएको छ । तर प्रारम्भिक संकेतहरूले त्यहाँ पनि अपेक्षाअनुसार उत्साह नदेखिएको तथ्य लुकाउन सकिँदैन ।

राजनीतिक दलहरूले यस्ता अवस्थालाई प्रायः प्राविधिक समस्या, व्यवस्थापनको चुनौती वा अभियानको प्रारम्भिक चरण भनेर व्याख्या गर्ने गर्छन् । कांग्रेसले डिजिटल प्रणालीमा देखिएका समस्या समाधान भइसकेको दाबी गरेको छ भने एमालेले पनि डिजिटल प्लेटफर्ममा सदस्यता व्यवस्थापनका कारण केही कठिनाइ आएको जनाएको छ । तर वास्तविकता केवल यतिमै सीमित देखिँदैन । समस्या प्रविधिको भन्दा गहिरो छ र त्यो राजनीतिक तथा संगठनात्मक चरित्रसँग जोडिएको छ । लामो समयदेखि नेपाली राजनीतिमा प्रभावशाली शक्ति रहेका कांग्रेस र एमाले दुवै अहिले सत्ताबाहिर छन् । सत्ता बाहिरिएपछि संगठनभित्रको वास्तविक अवस्था सतहमा आउन थालेको देखिन्छ । सत्ता र शक्तिको पहुँचमा रहँदा सक्रिय देखिने धेरै कार्यकर्ता अहिले निष्क्रिय बन्न थालेका छन् । यसले नेपाली राजनीतिक संस्कृतिको एउटा यथार्थ उजागर गरेको छ । राजनीतिक प्रतिबद्धताभन्दा अवसरमुखी सहभागिता बढी हाबी छ ।

सत्ता हुँदा दलका कार्यक्रममा भीड देखिनु, सदस्यता लिन होडबाजी हुनु र नेताको वरिपरि कार्यकर्ताको घुइँचो लाग्नु सामान्य मानिन्छ । तर सत्ता बाहिरिएपछि त्यही ऊर्जा हराउनु संगठनात्मक कमजोरीको संकेत हो । यसले दलभित्र वैचारिक निष्ठा कमजोर बन्दै गएको र राजनीतिक सहभागिता अवसरसँग जोडिँदै गएको देखाउँछ । कांग्रेसको हकमा अर्को महत्वपूर्ण समस्या गुट–उपगुटको राजनीति हो । १४औं महाधिवेशनपछि पनि संस्थापन र इतर समूहबीचको दूरी घट्न सकेको छैन । जिल्ला, प्रदेश र केन्द्रसम्म नेतृत्वको प्रतिस्पर्धा अझै तीव्र छ । कतिपय कार्यकर्ताले सदस्यता नवीकरण अभियानलाई संगठन विस्तारभन्दा पनि आगामी शक्ति सन्तुलन र महाधिवेशनको तयारीका रूपमा हेर्न थालेका छन् । यस्तो अवस्थामा अभियानप्रति आम कार्यकर्ताको भावनात्मक लगाव कमजोर हुनु स्वाभाविक हो । एमालेभित्र पनि अवस्था पूर्णतः फरक छैन । संगठनात्मक अनुशासन र संरचनाका हिसाबले एमाले तुलनात्मकरूपमा बलियो मानिए पनि पछिल्ला वर्षहरूमा पार्टीभित्र देखिएका विवाद, विभाजन र नेतृत्व केन्द्रित राजनीति कार्यकर्ताको मनोबलमा असर पारिरहेका छन् । पार्टीले युवालाई आकर्षित गर्ने योजना सार्वजनिक गरे पनि त्यसका लागि आवश्यक राजनीतिक वातावरण सिर्जना गर्न सकेको देखिँदैन ।

यसबीच अर्को महत्वपूर्ण पक्ष युवा पुस्ताको बदलिँदो राजनीतिक सोच हो । आजको युवा पुस्ता परम्परागत राजनीतिक दलको सदस्य बन्नुभन्दा मुद्दामुखी अभियान, स्वतन्त्र राजनीतिक गतिविधि वा सामाजिक आन्दोलनतर्फ बढी आकर्षित देखिन्छ । सामाजिक सञ्जालको विस्तार, सूचनामा सहज पहुँच र राजनीतिक नेतृत्वप्रतिको बढ्दो अविश्वासले युवाको दृष्टिकोण परिवर्तन गरेको छ । उनीहरू केवल पार्टीको झन्डा बोक्ने कार्यकर्ता बन्न चाहँदैनन् । उनीहरू परिणाम, पारदर्शिता र उत्तरदायित्व खोजिरहेका छन् । यही कारण सदस्यता अभियानलाई केवल संख्यात्मक प्रतिस्पर्धाका रूपमा लिनु पर्याप्त हुँदैन । हजारौं वा लाखौं सदस्य दर्ता हुनु मात्र संगठनको बलियोपनको प्रमाण होइन । ती सदस्य कति सक्रिय छन्, पार्टीप्रति उनीहरूको विश्वास कति छ र पार्टीले उनीहरूलाई कस्तो राजनीतिक भविष्य देखाउन सक्छ भन्ने प्रश्न अझ महत्वपूर्ण हुन्छ ।

सदस्यता नवीकरण अभियानको सुस्त गतिले कांग्रेस र एमाले दुवैलाई एउटा गम्भीर सन्देश दिएको छ । त्यो सन्देश हो, कार्यकर्ताको भरोसा र उत्साह स्वतः प्राप्त हुने विषय होइन । त्यसका लागि दलहरूले आफ्नो आन्तरिक लोकतन्त्र सुदृढ गर्नुपर्छ, गुटीय राजनीति नियन्त्रण गर्नुपर्छ, नयाँ पुस्ताको आकांक्षा बुझ्नुपर्छ र स्पष्ट राजनीतिक दृष्टिकोण प्रस्तुत गर्नुपर्छ । अन्यथा सदस्यता नवीकरण अभियानमा देखिएको सुस्तता भोलिका दिनमा संगठनात्मक कमजोरी, कार्यकर्ता पलायन र जनाधार क्षयको संकेतका रूपमा परिणत हुन सक्छ । अहिले देखिएको उदासीनता केवल प्रशासनिक समस्या होइन, परम्परागत दलहरूप्रति बढ्दो राजनीतिक थकान र विश्वास संकटको अभिव्यक्ति पनि हो । त्यसैले कांग्रेस र एमालेले यो अवस्थालाई सामान्यरूपमा होइन, आत्मसमीक्षा र सुधारको अवसरका रूपमा लिनु आवश्यक छ । यही बाटोबाट मात्र उनीहरूले संगठनलाई पुनर्जीवित गर्न र बदलिँदो राजनीतिक परिवेशमा आफ्नो सान्दर्भिकता कायम राख्न सक्नेछन् ।