काठमाडौं ।
स्पेनिस फुटबल क्लब रियल म्याड्रिडको अध्यक्षमा फ्लोरेन्टिनो पेरेज पुनः निर्वाचित भएका छन्।
क्लबले अध्यक्ष र बोर्ड अफ डाइरेक्टरको चुनावको आधिकारिक नतिजा सार्वजनिक गर्दै पेरेजको जितको घोषणा गरेको हो । निर्वाचन बोर्डका अनुसार प्रत्यक्ष र हुलाकमार्फत प्राप्त भएका सबै मतहरूको गणना सम्पन्न हुँदा पेरेजको प्यानलले ६५ प्रतिशत मतसहित स्पष्ट बहुमत हासिल गरेको छ । कुल मतगणनामा पेरेजले २१ हजार ७ सय ४१ मत प्राप्त गर्दा उनका एकमात्र प्रतिस्पर्धी एन्रिके रिकेल्मेले ११ हजार ८ सय १४ अर्थात् ३५ प्रतिशत मत मात्रै ल्याउन सफल भए ।
नयाँ कार्यकाल सुरक्षित गरेसँगै पेरेजको नेतृत्वमा क्लबको नयाँ बोर्ड अफ डाइरेक्टर पनि गठन गरिएको छ । जसमा उपाध्यक्ष र अन्य महत्त्वपूर्ण सदस्यहरू समावेश छन् । लामो समयदेखि रियल म्याड्रिडको कमान्ड सम्हाल्दै आएका पेरेजको कार्यकालमा क्लबले घरेलु तथा युरोपेली फुटबलमा अभूतपूर्व सफलताहरू हात पारेको छ । युरोपेली फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिग सर्वाधिक १५ पटक जितेर कीर्तिमान बनाएको रियल म्याड्रिडले पेरेजको यो नयाँ कार्यकालमा सफलताको लयलाई थप निरन्तरता दिने विश्वास गरिएको छ ।











प्रतिक्रिया