विश्वकपमा गोल-मेसिन हालाण्ड र गेम-चेन्जर यामलले डेब्यु गर्दै


काठमाडौं ।  

वर्तमान विश्व फुटबलमा दुईवटा यस्ता नक्षत्र चम्किरहेका छन्, जसले खेलको परिभाषा र गति दुवैलाई बदलिदिएका छन् । ती हुन्, नर्वेका एर्लिङ हालाण्ड र स्पेनका लामिन यामल । यी दुवै युवा सुपरस्टारहरू आ-आफ्नो टोलीको आक्रमणको मुख्य हतियार हुन् । तर, उनीहरूको खेल्ने शैली, शारीरिक बनावट, मैदानभित्रको भूमिका र फुटबलको यात्रा भने निकै भिन्न र रोचक छ । आगामी फिफा विश्वकप २०२६ मा पहिलो पटक पाइला टेकेर विश्वकपमा नै डेब्यू गर्न लागेका यी विपरित ध्रुवका यी दुई युवा फुटबलरहरूले विश्वभरका फुटबल प्रेमीहरूको ढुकढुकी बढाउने निश्चित छ ।

एकतर्फ नर्वेका ‘गोल-मेसिन’ एर्लिङ हालाण्ड छन् । जो मैदानमा विपक्षी डिफेन्डरहरूका लागि डर बन्ने गर्छन् । १.९४ मिटर अग्ला, शारीरिक रूपमा अविश्वसनीय रूपमा बलिया र हावामा चिलझैं उड्न सक्ने यी सेन्टर फरवार्डको एकमात्र लक्ष्य हुन्छ, बललाई जाली चुमाउनु । सन् २०१९ मा नर्वेको सिनियर टोलीबाट डेब्यु गरेका हालाण्डको काँधमा लामो समयपछि देशलाई विश्वकपको मञ्चमा फर्काउने ऐतिहासिक जिम्मेवारी थियो । जसमा उनी खरो उत्रिएका छन् । हालसम्म नर्वेका लागि ४९ खेलमा ५५ अन्तर्राष्ट्रिय गोल गर्दै देशकै इतिहासमा सर्वाधिक गोलकर्ता बनिसकेका हालाण्ड पहिलो पटक विश्वकपको महाकुम्भमा आफ्नो जादु देखाउन आतुर छन् ।

अर्कोतर्फ, १८ वर्षकै कलिलो उमेरमा फुटबल साम्राज्यमा आफ्नो प्रभुत्व जमाइसकेका स्पेनका लामिन यामल छन् । विंगर तथा आक्रमणकारी प्लेमेकरका रूपमा मैदान उत्रिने यामलको खुट्टामा बल पुग्दा जादुमयी दृश्यहरू सिर्जना हुन्छन् । सन् २०२४ को युरोकपमा स्पेनलाई च्याम्पियन बनाउन नायक बनेका यामलले फ्रान्सविरुद्धको सेमिफाइनलमा सनसनीपूर्ण गोल गर्दै युरो इतिहासकै सबैभन्दा कम उमेरमा गोल गर्ने कीर्तिमान रचेका थिए । उक्त प्रतियोगितामा १ गोल र ४ असिस्टसहित ‘योंग प्लेयर अफ द टुर्नामेन्ट’ बनेका यामल कौशल, गति र ड्रिब्लिङका कुशल खेलाडी हुन् ।

फुटबल विश्लेषकहरूको नजरमा हालाण्ड आधुनिक फुटबलका सबैभन्दा घातक ‘क्लिनिकल क्रुसेडर’ (गोल स्कोरर) हुन् भने यामल खेलको नक्सा नै बदल्न सक्ने ‘क्रिएटर र गेम-चेन्जर’ हुन् । यतिबेला विश्व फुटबल क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सीको युगबाट अघि बढ्दै गर्दा, यी दुई फरक शैलीका स्टारहरूले नयाँ पुस्ताको कमान्ड सम्हालेका छन् । पहिलो पटक फिफा विश्वकपको मैदानमा उत्रिन लागेका हालाण्डको शक्ति र यामलको कलात्मक कौशललाई एकैसाथ हेर्न सारा संसार व्यग्र प्रतीक्षामा छ ।