काठमाडौं ।
फिफा विश्वकप २०२६ को उद्घाटन हुन केही दिन मात्र बाँकी रहँदा अमेरिकाको मिसौरी राज्यस्थित क्यान्सस सिटीमा भएको गोलीकाण्डले प्रतियोगिताको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न खडा गरेको छ। शनिबार बिहान भएको घटनामा कम्तीमा ९ जना घाइते भएका छन् भने हालसम्म कुनै पनि संदिग्धलाई पक्राउ गर्न सकिएको छैन।
क्यान्सस सिटी प्रहरीले जनाएअनुसार स्थानीय समयअनुसार बिहान करिब ४ बजे ट्रोस्ट एभिन्यू क्षेत्रमा गोली चलेको सूचना पाएपछि प्रहरी घटनास्थल पुगेको थियो। घटनामा घाइते भएका सबै ९ जनाको अवस्था खतरामुक्त रहेको र कम्तीमा तीन जनालाई अस्पतालमा भर्ना गरिएको बताइएको छ।
यो घटना इङ्ग्ल्यान्डको राष्ट्रिय फुटबल टोलीले विश्वकप अवधिभर प्रयोग गर्ने ‘स्वोप सोकर भिलेज’ प्रशिक्षण केन्द्रबाट करिब चार माइलको दूरीमा भएको हो। यद्यपि गोलीकाण्ड हुँदा इङ्ग्ल्यान्डको टोली क्यान्सस सिटीमा नभई फ्लोरिडामा प्रशिक्षणरत रहेको र उनीहरू केही दिनपछि मात्र त्यहाँ पुग्ने कार्यक्रम रहेको छ।
इङ्ग्ल्यान्डले विश्वकपअघि कोस्टारिकाविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने तयारी गरिरहेको छ। टोली जुन १३ मा क्यान्सस सिटी पुग्ने अपेक्षा गरिएको छ।
घटनापछि स्थानीय प्रशासनले सुरक्षा निगरानी बढाएको जनाएको छ। विश्वकपका क्रममा क्यान्सस सिटीमा इङ्ग्ल्यान्डसँगै अन्य केही शीर्ष टोलीहरू पनि बस्ने भएकाले सुरक्षा व्यवस्थालाई थप कडा बनाउने तयारी गरिएको छ।
इङ्ग्ल्यान्ड फुटबल संघ (एफए) ले भने घटनाबारे कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।
यस घटनाले फेरि एकपटक अमेरिकामा बढ्दो बन्दुक हिंसाको विषयलाई अन्तर्राष्ट्रिय बहसको केन्द्रमा ल्याएको छ। ‘गन भायोलेन्स आर्काइभ’ का अनुसार सन् २०२५ मा मात्रै अमेरिकाभर ४०० भन्दा बढी सामूहिक गोलीकाण्डका घटना अभिलेख भएका थिए।
अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्न लागेको विश्वकप २०२६ जुन ११ बाट सुरु हुँदैछ। यस संस्करणमा ४८ राष्ट्र सहभागी हुनेछन् र कुल १०४ खेल खेलाइनेछ।











प्रतिक्रिया