काठमाडौं ।
जल तथा मौसम विज्ञान विभागले तराईका विभिन्न जिल्लामा अत्यधिक गर्मी बढ्ने चेतावनी दिँदै तातो दिन तथा तातो लहरसम्बन्धी विशेष बुलेटिन जारी गरेको छ।
मौसम पूर्वानुमान महाशाखाले बिहीबार अपराह्न ४ बजे जारी गरेको विशेष बुलेटिनमा आगामी तीन दिनसम्म कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा सोभन्दा माथि पुग्ने सम्भावना रहेको जनाएको छ।
महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार बिहीबार देशकै सबैभन्दा बढी तापक्रम भैरहवामा ४१ डिग्री सेल्सियस मापन गरिएको छ भने नेपालगञ्जमा ४० डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको छ।
विभागका अनुसार मधेस र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा आगामी तीन दिनसम्म मध्यम स्तरको तातो लहर चल्ने सम्भावना रहेको छ। साथै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा तातो दिनको अवस्था रहने अनुमान गरिएको छ।
महाशाखाले १४ जिल्लामा विशेष सतर्कता अपनाउन र थप सात जिल्लामा मौसमको अवस्थाबारे नियमित जानकारी लिन आग्रह गरेको छ। अत्यधिक गर्मीका कारण स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन विभागले सबैलाई अनुरोध गरेको छ।
विभागले विशेषगरी दिउँसोको समयमा अनावश्यक रूपमा घाममा ननिस्कन, प्रशस्त पानी तथा झोलिलो पदार्थ सेवन गर्न, हल्का तथा सुती कपडा लगाउन, बालबालिका, ज्येष्ठ नागरिक र दीर्घरोगीको विशेष ख्याल गर्न सुझाव दिएको छ।
गर्मीको प्रभाव अझ केही दिन कायम रहने सम्भावना रहेकाले मौसमसम्बन्धी अद्यावधिक सूचना तथा चेतावनीहरू नियमित रूपमा पछ्याउन विभागले आग्रह गरेको छ।











प्रतिक्रिया