शान्ति नीहारिकाको ‘पृथुला’

0
Shares

साहित्यकार शान्ति नीहारिकाले आफ्नो दोस्रो साहित्यिक कृति ‘पृथुला’ कविता संग्रह हालै सार्वजनिक गरेकी छन् । छोरा यसन खड्काको जन्मदिनको अवसरमा साहित्यकार नीहारिकाले ‘पृथुला’ कविता संग्रह सार्वजनिक गरेकी हुन् । साहित्यकार नीहारिकाले यसअघि उपन्यास ‘चट्याङको मूच्र्छना’ प्रकाशन गरिसकेकी छन् ।

साहित्यकार प्रा.डा. देवी नेपाललगायतका साहित्यकारहरुको उपस्थितिमा नीहारिकाको दोस्रो कृति कविता संग्रह ‘पृथुला’ सार्वजनिक गरिएको थियो । दियालो साहित्य सरगमले आयोजना गरेको ‘पृथुला’ कविता संग्रह सार्वजनिक कार्यक्रमको सभापतित्व शान्ति शर्माले गरेकी थिइन् भने साहित्यकार सकुन्तला जोशीले ‘पृथुला’ कविता संग्रहबारे टिप्पणी गरेकी थिइन् ।

कार्यक्रममा साहित्यकार प्रा.डा. देवी नेपाल, बलराम दाहाल, डा. रेणुका सोलु, लेखक एवं पत्रकार रोहित भण्डारी, सर्जकका अभिभावक भवीन्द्र खत्रीलगायतले मन्तव्य व्यक्त गरेका थिए भने हेम प्रभास, रिमा केसी र एमपी पाण्डेले कविता बाचन गरेका थिए ।

गजल लेखनमा सक्रिय साहित्यकार शान्ति नीहारिकाले नेपाली गजल गायनको स्वर्ण दशक वि.सं. २०८०–२०९० अन्तर्गत कविता संग्रह सार्वजनिकसँगै ‘नीहारिका गजल गुञ्जन–२०८३’ समेत प्रस्तुत गरेकी थिइन् । गजल गुञ्जनमा विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, गायक राजकुमार सुन्दास (राज सागर) तथा गायिका जलजला परियारले सांगीतिक प्रस्तुति दिएका थिए ।

गजल गायनको स्वर्ण दशक वि.सं. २०८०–२०९० अन्तर्गत आयोजना भएको ‘नीहारिका गजल गुञ्जन–२०८३’ तेस्रो कार्यक्रम हो । यसअघि ‘राधा कणेल गजल साँझ–२०८२’ र ‘रश्मि गजल गुञ्जन– २०८२’ आयोजना भएका थिए ।

सानै उमेरदेखि साहित्य लेखनमा उत्साहित शान्ति नीहारिकाले विद्यार्थी समयमा धेरै फुटकर कविता तथा गजलहरु लेखेको बताइन् । झन्डै पाँच वर्षदेखि भने साहित्यको कविता, गजल र कथा–उपन्यास लेखनमा निरन्तर लागिरहेको उनको भनाइ छ ।