एकदिवसीय क्रिकेटमा सन्दीपको ऐतिहासिक उपलब्धि, १५० विकेट पूरा गर्दै बनाए विश्व कीर्तिमान


काठमाडौँ ।

नेपालका स्टार स्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा नयाँ इतिहास रचेका छन् । उनले सोमबार त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डविरुद्ध खेल्दै ओडीआई करिअरका १५० विकेट पूरा गरेका हुन् ।

सन्दीपले केवल ७३ खेलमा यो उपलब्धि हासिल गर्दै एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने विश्व कीर्तिमान आफ्नो नाममा लेखाएका छन् । यसअघि उक्त रेकर्ड अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कको नाममा रहेको थियो । स्टार्कले ७७ खेलमा १५० विकेट पूरा गरेका थिए ।

स्कटल्यान्डविरुद्धको खेलमा सन्दीपले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै तीन विकेट हात पारे । २३ ओभरसम्म स्कटल्यान्ड पाँच विकेट गुमाएर १३२ रनको अवस्थामा पुगेको थियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले पनि समान एक–एक विकेट लिए ।

सन्दीपले यसअघि पनि ओडीआई क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट पूरा गर्ने विश्व कीर्तिमान बनाएका थिए । उनले सन् २०२३ मा ओमानविरुद्धको खेलमा आफ्नो ४२औँ ओडीआई खेल खेल्दै १०० विकेटको आँकडा छुँदा अफगानिस्तानका स्पिनर राशिद खानको ४४ खेलको रेकर्ड तोडेका थिए ।

१०० विकेटदेखि १५० विकेटसम्मको यात्रामा पनि सन्दीपले विश्व क्रिकेटका चर्चित बलरलाई पछि पार्दै नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय मञ्चमा थप उचाइ दिलाएका छन् । नेपालको क्रिकेट इतिहासमा यो अर्को महत्वपूर्ण र गौरवपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।