बुटवल।
भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको बुटवलमा सम्पन्न राष्ट्रिय भेलाले अधिकार प्राप्तिका लागि नयाँ नेतृत्व र सङ्घर्षका कार्यक्रमहरू घोषणा गरेको छ।
भेलाले खगेन्द्र पौडेलको संयोजकत्वमा ७५ सदस्यीय तदर्थ समिति बनाएको छ । समितिमा दाङका हरिष गिरी, प्रेम बोहरा, रुपन्देहीका विरमान लामा, रिसब पोखरेल, राजकुमार भट्टराई, विवेक गुभाजू, पूर्णबहादुर विक, तेजबहादुर कुँवर क्षेत्री लगायत रहेका छन् ।भेलाले सरकारलाई बुझाउने १२ बुदे माग सहित कार्यपत्र पारित गरेको छ । राष्ट्रिय भेलाले देशभर भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका वस्तीमाथि डोजर प्रयोग गरी गरिने जबर्जस्ती निष्कासन, घरटहरा भत्काउने तथा अमानवीय व्यवहार तत्काल बन्द गर्न माग गरिएको छ । भूमि ऐन बमोजिम नाप–नक्सा सम्पन्न भइसकेका क्षेत्रहरूको बाँकी प्रशासनिक तथा कानुनी प्रक्रिया तत्काल पूरा गरी शीघ्र लालपुर्जा वितरण गर्न माग गरिएको छ । यस्तै भूमि ऐनको व्यवस्था अनुसार भूमिहीन दलित सुकुम्बासीहरूलाई आवास तथा कृषि प्रयोजनका लागि आवश्यक जग्गाको लालपुर्जा पूर्णरूपमा निःशुल्क उपलब्ध गराउन माग गरिएको छ।
राष्ट्रिय भेलाले जेठ ८ गते काठमाडौं पत्रकार सम्मेलन गर्ने,जेठ ११ गते प्रधानमन्त्री,मन्त्री तथा राजनीतिक दलका शीर्ष नेता, मानव अधिकारकर्मी लाई ज्ञापनपत्र बुझाउने, १४ गते काठमाडौंमा राजनीतिक दलका प्रमुख, भूमि विज्ञ, बौद्धिक जगतको उपस्थितिमा सडक अन्तरक्रिया गर्ने निर्णय गरेको बताइएको छ ।
यस्तै संसद, राजनीतिक दल र राष्ट्रिय मानव अधिकार आयोगसँग सडक संवाद तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने र तेस्रो चरणमा राष्ट्रियस्तरमा काठमाडौं केन्द्रित सशक्त आन्दोलन सञ्चालन गर्ने,सिंहदरबार केन्द्रित मार्च कार्यक्रम गर्ने,धर्ना, प्रदर्शन तथा खबरदारी सभा निरन्तर सञ्चालन गर्ने, सुकुम्बासी हटाइएका स्थानहरूमा संघर्ष स्वरूप अस्थायी बसोबास (टेन्ट आन्दोलन) सञ्चालन गर्ने निर्णय गरेको अभियानका अगुवाहरुले बताएका छन् ।अभियानले अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरूलाई सुकुम्बासी र अव्यवस्थित बसोबासीको हक अधिकार हनन् भएको जानकारी गराउने र संयुक्त राष्ट्रसंघीय आवास अधिकारसम्बन्धी निकायमा औपचारिक ध्यानाकर्षण गराउने निर्णय समेत गरेको छ ।











प्रतिक्रिया