काठमाडौं।
नेपाल विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को उपाध्यक्षमा निर्वाचित भएको छ। स्वीट्जरल्याण्डको जेनेभामा सोमबारदेखि सुरु भएको ७९औँ विश्व स्वास्थ्य महासभाले नेपालसहित पाँच देशलाई सर्वसम्मत रुपमा उपाध्यक्षमा चयन गरेको हो।
जेनेभास्थित विश्व स्वास्थ्य संगठनको मुख्यालय नजिक रहेको प्यालिस डेस न्यासनमा आयोजित उद्घाटन सत्रमा नेपाललाई उपाध्यक्षमा निर्वाचित गरिएको हो। नेपालसँगै लिविया, मालि, पोल्याण्ड र पपुवा न्युगिनी पनि उपाध्यक्षमा चयन भएका छन्।
नेपालको यो निर्वाचनलाई अन्तर्राष्ट्रिय स्वास्थ्य क्षेत्रमा देशको बढ्दो सक्रियता, नेतृत्व क्षमता तथा विश्व स्वास्थ्यसम्बन्धी मुद्दामा निरन्तर पुर्याउँदै आएको योगदानको सम्मानका रूपमा हेरिएको छ। विशेषगरी महामारीपछिको विश्व स्वास्थ्य सुरक्षासम्बन्धी बहस, स्वास्थ्य पहुँच विस्तार, खोप कार्यक्रम तथा विकासोन्मुख मुलुकहरूको स्वास्थ्य अधिकारका सवालमा नेपालले अन्तर्राष्ट्रिय मञ्चमा उठाउँदै आएका विषयलाई महासभाले सकारात्मक रूपमा लिएको विश्लेषण गरिएको छ।
नेपालले पछिल्ला वर्षहरूमा विश्व स्वास्थ्यसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय छलफल तथा सहकार्यमा सक्रिय सहभागिता जनाउँदै आएको छ। विशेषगरी कोभिड–१९ महामारीका बेला सीमित स्रोतसाधनका बीच पनि खोप अभियान सञ्चालन, समुदायस्तरमा स्वास्थ्य सेवा विस्तार तथा जनस्वास्थ्य सुरक्षामा अपनाइएका अभ्यासले अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षित गरेको थियो।
उपाध्यक्षमा निर्वाचित भएसँगै अब नेपालले महासभाका विभिन्न सत्र सञ्चालन, सदस्य राष्ट्रबीच समन्वय तथा स्वास्थ्यसम्बन्धी नीतिगत छलफलमा नेतृत्वदायी भूमिका निर्वाह गर्नेछ। यसले विश्व स्वास्थ्य नीतिनिर्माण प्रक्रियामा नेपालको उपस्थिति अझ प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले सोमबार नै महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। मन्त्री मेहताले नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरण, सार्वभौमिक स्वास्थ्य पहुँच, मातृ तथा शिशु स्वास्थ्य सुधार, जलवायु परिवर्तनले स्वास्थ्य क्षेत्रमा पारेको प्रभाव तथा विकासोन्मुख राष्ट्रहरूले भोगिरहेका चुनौतीका विषयमा धारणा राख्ने तयारी गरिएको जनाइएको छ।
विश्व स्वास्थ्य महासभा डब्लुएचओको सबैभन्दा उच्च नीति निर्माण गर्ने निकाय हो। हरेक वर्ष आयोजना हुने यस महासभामा विश्वभरका सदस्य राष्ट्रका स्वास्थ्य मन्त्री तथा प्रतिनिधिहरू सहभागी हुने गर्दछन्। महासभामा विश्व स्वास्थ्य नीति, महामारी नियन्त्रण, औषधि पहुँच, स्वास्थ्य वित्तीय व्यवस्थापन, जलवायु र स्वास्थ्यलगायत विविध विषयमा छलफल हुने गर्दछ।
नेपाल उपाध्यक्षमा निर्वाचित हुनु केवल कूटनीतिक उपलब्धि मात्र नभई विश्व स्वास्थ्य क्षेत्रमा नेपालको विश्वसनीयता र सक्रिय भूमिकाको प्रमाणका रूपमा समेत हेरिएको छ। स्वास्थ्य क्षेत्रका विज्ञहरूले यसबाट नेपाललाई आगामी दिनमा अन्तर्राष्ट्रिय स्वास्थ्य सहकार्य, प्राविधिक सहयोग तथा नीति निर्माण तहमा थप अवसर प्राप्त हुने बताएका छन्।











प्रतिक्रिया