मुगु।
मुगुको मुगुम कार्मारोङ गाउँपालिकामा पहिलो पटक आयोजना गरिएको ‘छायानाथ अल्ट्रा रेस’मा पुरुषतर्फ धीरबहादुर बुढा र महिलातर्फ सुनमाया बुढाले उपाधि जितेका छन्।
मुगुम कार्मारोङ गाउँपालिकाको आयोजना तथा अल नेपाल स्पोर्ट्स फाउन्डेसनको सहकार्यमा सम्पन्न प्रतियोगिताले हिमाली क्षेत्रमा साहसिक खेल पर्यटनको नयाँ सम्भावना देखाएको आयोजकले जनाएको छ।
किम्रीबाट सुरु भएको ३३ किलोमिटर दूरीको दौड छायानाथ, चिताइकुना हुँदै पुलुमा पुगेर सम्पन्न भएको थियो। धार्मिक र प्राकृतिक दृष्टिले महत्वपूर्ण मानिने मार्गमा आयोजित प्रतियोगितामा १२ महिला र ४६ पुरुष गरी ५८ जना धावक सहभागी भएका थिए।
प्रतियोगितामा धिरबहादुर बुढाले ३ घण्टा ५७ मिनेट २५ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै पुरुषतर्फ पहिलो स्थान हासिल गरे। दलबहादुर कुँवर दोस्रो तथा चन्द्रबहादुर रावत तेस्रो बने। अर्जुन कुलुङ राई चौथो र रमेश लिम्बु पाँचौँ स्थानमा रहे।
महिलातर्फ सुनमाया बुढाले ५ घण्टा २५ मिनेट ५० सेकेन्डमा दौड पूरा गर्दै उपाधि हात पारिन्। राममाया बुढा दोस्रो र कल्पना बुढा तेस्रो भइन्। त्यसैगरी सम्जेदा बुढा चौथो तथा निर्मला राई पाँचौँ स्थानमा रहिन्।गाउँपालिकाका सूचना अधिकारी सोबिन्द्र मल्लका अनुसार प्रतियोगितामा अन्तर्राष्ट्रिय स्तरका २३ जना खेलाडी सहभागी भएका थिए। प्रतियोगितामा एलिट, इन्टरमिडिएट, एड्भान्स र एक्सप्लोर वर्गका धावकहरूको समेत उल्लेख्य सहभागिता रहेको उनले बताए।
अल नेपाल स्पोर्ट्स फाउन्डेसनका संजय अधिकारीले नेपालका विभिन्न चर्चित ट्रेल तथा म्याराथन प्रतियोगितामा सफलता हासिल गरिसकेका धावकहरूको सहभागिताले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक बनाएको बताए। एभरेस्ट, मञ्जुश्री, चाँगुनारायण, जुम्ला–रारा तथा रारा ट्रेल रनजस्ता प्रतिष्ठित प्रतियोगितामा सहभागी धावकहरू पनि यस रेसमा सहभागी भएका थिए। प्रतियोगिताको प्राविधिक सहयोग नेपाल एड्भेन्चर रनिङ महासंघले गरेको थियो।
मुख्य अल्ट्रा रेससँगै स्थानीयस्तरमा पाँच किलोमिटर दूरीको ‘फन रन’ पनि सञ्चालन गरिने आयोजकले जनाएको छ।
उक्त फन रनमा स्थानीय युवायुवतीको सहभागिता रहने अपेक्षा गरिएको छ। प्रतियोगिताका विजेताहरूलाई नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। पुरुष तथा महिलातर्फ प्रथम हुनेले जनही दुई लाख रुपैयाँ, दोस्रो हुनेले एक लाख ५० हजार, तेस्रो हुनेले एक लाख, चौथो हुनेले ७५ हजार र पाँचौँ हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
पाँच किलोमिटर फन रनतर्फ प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले छायानाथ क्षेत्रलाई धार्मिक तथा साहसिक पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए। उनले यस्ता कार्यक्रमले स्थानीय संस्कृति, प्राकृतिक सम्पदा र हिमाली जीवनशैलीलाई विश्वसामु चिनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र रावलले प्रतियोगिताले स्थानीय पर्यटन, होटल व्यवसाय र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको बताए। आयोजकका अनुसार प्रतियोगिताले छायानाथ क्षेत्रको धार्मिक, सांस्कृतिक र प्राकृतिक महत्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गर्न महत्वपूर्ण योगदान पुर्याउनेछ।











प्रतिक्रिया