गोसाईंकुण्डमा यस वर्ष जेठ ३ गतेदेखि गंगादशहरा मेला सुरु 

0
Shares

रसुवा ।

 रसुवाको उच्च भागमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डको विशेष मेला सुरु भइसकेको छ । गङ्गा दशहरा पर्वअन्तर्गत आरम्भ भएको १० दिने विशेष मेला भर्न टाढा टाढाबाट आउने क्रम जारी रहेको छ । शिवको दर्शन गर्नाले आफ्ना मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहिआएको छ ।

गोसाईंकुण्ड मेला जेठ ३ देखि १२ गते सम्म हुनेछ  । समुद्र मन्थन गर्दा निस्किएको कालकुट विष सेवनका कारण भएको छटपटी र डाहा शान्त पार्न जलको खोजी गर्दै भगवान् शिव निलाद्रि पर्वत पुग्नुभएको धार्मिक मान्यता छ । त्रिशूल प्रहारबाट निलाद्री पर्वतमा जल उत्पन्न गराई पानीको प्यास मेटी त्यही जलले बनेको पोखरीमा शिव शङ्कर भगवान् विराजमान हुनुभएको किम्बदन्ती छ ।

यो कुण्डमा डुबुल्की मारेपछि उकालो चढ्दा लागेको सम्पूर्ण थकाइ समाप्त हुने बताइन्छ । निलाद्री पर्वत अर्थात् गोसाईंकुण्ड तीर्थ समुद्री सतहबाट ४ हजार ३ सय ८० मिटरको उचाइमा अवस्थित छ । यो पवित्र कुण्डमा स्नान गर्दा शारीरिक रोगव्याधसमेत हट्ने मान्यता रहिआएको छ । कालकुट विषपान गरी प्राणी बचाउने शिवको दर्शनका लागि जिन्दगीमा एक पटक गोसाईंकुण्ड पुग्नै पर्ने मान्यता रहिआएको छ ।

स्थानीय पुरोहित टङ्कप्रसाद ढकालले उत्तरगया धाम बेत्रावती पुगेर स्नान तथा गङ्गा पूजन गरी गोसाईंकुण्ड जानुपर्ने, चोलाङ पाटीमाथि बाटोमा ढुङ्गा राखेर घर बनाउने र लौरी विनायकमा लौरी चढाइ गोसाईंकुण्ड जानुपर्ने, कुण्डमा भगवान्को दर्शन गरी फर्किदा ल्याएको जल धैबुङस्थित कालिका मन्दिरमा चढाएर घर जाँदा पुण्य मिल्ने मान्यता रहेको बताउनुभयो । गोसाइँकुण्डमा स्नान गरेको तथा भक्तजन  विस्तारै आउने क्रम जारी रहेको लाङटाङ राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेश तिवारीले  जानकारी दिनुभयो ।

दशहरा पर्वमा १० दिन एवं जनपूर्णिमाका अवसरमा पाँच दिन गरी प्रत्येक वर्ष १५ दिन निलाद्री पर्वतमा विशेष मेला लाग्ने परम्परा छ ।  जिल्ला प्रहरी प्रमुख  अशाेक थापाले कुनै स्थानमा सुरक्षा चाहिए वा उद्धार गर्नुपर्ने अवस्था सिर्जना भए नेपाल प्रहरीको निःशुल्क फोन १०० मा खबर गरिदिन यात्रुसमक्ष अनुरोध गरिएको बताउनु भयाे ।

ट्राफिक व्यवस्थापनअन्तर्गत यात्रुले ल्याएका सवारी साधन धुन्चेमा पार्किङ एवं सुरक्षाको प्रबन्धसमेत तय गरिसकिएको उहाँले जानकारी दिनुभयो । यात्रुको चापलाई मध्यनजर राख्दै भोजनको उचित व्यवस्थापनका लागि होटेल व्यवसायीले आवश्यक दाल, चामल, नुन, तेलजस्ता खाद्यान्न धार्मिक मार्गका चन्दनबारी, लौरी विनायक, गोसाइँकुण्डसमेतका सबै स्थानमा भण्डारण गरिसकेको होटेल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष  विशाल घलेले बताउनु भयो ।

 गोसाइँकुण्डका यात्रुले बाँस तथा निगालोको मात्र लठ्ठी प्रयोग गरी वन सम्पदा संरक्षणमा योगदान पुर्‍याउन र आफूबाट उत्पन्न फोहरलाई सुरक्षित स्थानमा फ्याकी वातावरणको संरक्षणमा समेत सहयोग गरिदिन लाङटाङ राष्ट्रिय निकुञ्जले अनुरोध गरेको छ ।

यसै गरी हिमालय पुत्री पार्वती माता विराजमान रसुवाको गतलाङस्थित पार्वती कुण्डमा समेत स्नान तथा पूजाआजाका लागि भक्तजनको ओहोरदोहोर भइरहेको छ । गोसाइँकुण्डमा उकालो हिँड्नुपर्ने र पार्वती कुण्डमा भने सवारी साधनबाटै पुग्न सकिने भएका कारण गोसाईंकुण्ड पुग्न नसक्ने भक्तजनले पार्वती कुण्ड स्नान गरेर पनि लाभ प्राप्त गर्न सक्ने मान्यता छ ।

यस वर्ष मलमास परेकाले तिर्थालुहरू कम हुन सक्ने गाेसाईकुण्ड क्षेत्र विकास समिति रसुवाका अध्यक्ष सन्जिव डिएमले वताउनु भयाे ।