नेपाल मेडिकल काउन्सिलको निर्णय यू–टर्न : विदेशी राहदानी लिएका ३६ चिकित्सकको दर्ता खारेजी निर्णय स्थगित


काठमाडौं। 

 नेपाल मेडिकल काउन्सिलले नेपाली नागरिकता परित्याग गरी विदेशी राहदानी लिएका ३६ जना गैरआवासीय नेपाली चिकित्सकको नाम दर्ता किताबबाट हटाउने आफ्नो अघिल्लो निर्णय उल्टाएको छ।

काउन्सिलको गत २९ बैशाखमा बसेको पूर्ण बैठकले विदेशी राहदानी लिएका ३६ जना चिकित्सकको नाम दर्ता किताबबाट हटाउने सम्बन्धी पहिलाको निर्णय तत्काल कार्यान्वयन नगर्ने तथा उनीहरूको नाम यथावत राख्ने निर्णय गरेको हो।

काउन्सिलका निमित्त रजिष्ट्रार डा. दीपेन्द्र पाण्डेले पूर्ण बैठकले यसअघि गरिएको दर्ता खारेजीको निर्णय स्थगन गर्ने निर्णय गरेको जानकारी दिए। उनका अनुसार अब विदेशमा रहेका नेपाली चिकित्सकलाई “गैरआवासीय नेपाली चिकित्सक” सूचीमा दर्ता हुन आह्वान गरिनेछ।

‘पहिला खारेज गर्ने भन्ने विषयमा सूचना आएको थियो। उक्त विषय स्थगन गर्ने निर्णय भएको हो,’ उनले भने, ‘विदेशमा रहेका गैरआवासीय नेपाली चिकित्सकलाई गैरआवासीय लाइसेन्स लिनका लागि आह्वान गरिनेछ।’

उनले गैरआवासीय चिकित्सकको रूपमा दर्ता भएपछि सम्बन्धित चिकित्सकहरूको नाम नेपाली चिकित्सकको मूल दर्ता किताबबाट स्वतः हट्ने बताए।

यसअघि काउन्सिलले दुई पटक सार्वजनिक सूचना जारी गर्दै विदेशी राहदानी लिएका ३६ जना चिकित्सकको नाम दर्ता किताबबाट हटाइएको जानकारी दिएको थियो। उक्त निर्णयको विदेशमा रहेका नेपाली चिकित्सकहरूले विरोध गरेका थिए।

काउन्सिलको १२ भदौ २०८२ मा बसेको पूर्ण बैठकले नेपाली नागरिकता त्याग गरी विदेशी राहदानी लिएका चिकित्सकहरूको दर्ता खारेज गर्ने निर्णय गरेको थियो।

त्यसबेलाको निर्णय नं. ६ मा २०८१ असोज १६ को पूर्ण बैठकको निर्णयलाई उल्लेख गर्दै विदेशी राहदानी लिएका चिकित्सकलाई एक पटकका लागि ‘गुड स्ट्याण्डिङ’ प्रमाणपत्र जारी गरी त्यसपछि काउन्सिलको दर्ता किताबबाट नाम हटाउने व्यवस्था गरिएको उल्लेख थियो।