रोयल टुलिप काठमाण्डौंलाई आइपिओमा लैजान नबिल इन्भेष्टमेन्टसँग सम्झौता


काठमाडौँ
नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड र द म्यासिफ होटल प्राइभेट लिमिटेड (रोयल टुलिप काठमाण्डौं), ग्वार्को ललितपुरबीच संस्थागत परामर्श सेवा अन्तर्गत कम्पनीलाई सर्वसाधारणमा सार्वजनिक निष्काशन गरी सूचीकृत कम्पनी बनाउने उद्देश्यसहित ‘आइपिओको बाटो’ सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
उक्त सम्झौताअनुसार प्राइभेट कम्पनीलाई पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गर्ने लगायत आवश्यक समन्वयकारी तथा सहयोगी भूमिका नबिल इन्भेष्टमेन्टले निर्वाह गर्नेछ ।

सम्झौतापत्रमा द म्यासिफ होटल प्राइभेट लिमिटेड (रोयल टुलिप काठमाण्डौं) का तर्फबाट अध्यक्ष राजेन्द्र शाक्य र नबिल इन्भेष्टमेन्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनीष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।

फ्रान्सको अन्तर्राष्ट्रिय चेन ब्रान्डका रूपमा परिचित रोयल टुलिप काठमाण्डौं, ललितपुरको ग्वार्कोमा सञ्चालनमा रहेको पाँचतारे होटल हो । होटलमा ३०८ वटा कोठा तथा सुइट रुम रहेका छन् । धेरै कोठा भएको होटलमध्ये एक मानिने यस होटलमा साना–ठूला गरी १० वटा बैठक हलसमेत रहेका छन् ।

आधुनिक वास्तुकलामा निर्माण गरिएको होटलमा उच्चस्तरीय सुविधा सम्पन्न, आकर्षक ढंगले डिजाइन गरिएका कोठा तथा सुइटहरू रहेका छन् । अत्याधुनिक सुविधाले सुसज्जित होटलले पाहुनालाई स्तरीय सेवा प्रदान गर्दै आएको जनाएको छ । होटलमा आधुनिक हेल्थ क्लब, इन–हाउस रेस्टुरेन्ट, स्पा तथा विभिन्न कार्यक्रम आयोजना गर्न मिल्ने सुविधा सम्पन्न बैठक हल छन् ।

कम्पनीका अनुसार ग्राहक सन्तुष्टि नै होटलको पहिलो प्राथमिकता हो । रमाइलो तथा स्मरणीय यात्राका लागि द म्यासिफ होटल (रोयल टुलिप काठमाण्डौं) उत्कृष्ट गन्तव्य बन्ने विश्वास कम्पनीले व्यक्त गरेको छ ।

सम्झौताअनुसार नबिल इन्भेष्टमेन्टले होटललाई सर्वसाधारणमा सार्वजनिक निष्काशनका लागि आवश्यक पूर्वतयारीमा सहयोग गर्नेछ । पूर्वतयारी सम्पन्न भएपछि नियामक निकायसँग सार्वजनिक निष्काशनको अनुमति माग गरिने जनाइएको छ ।