काठमाडौं।
छिमेकी मुलुक भारतको पाँच विधान सभा निर्वाचनको मतगणना सार्वजनिक भएको छ । भारतको राजनीतिमा ठूलो परिवर्तन देखिएको यस निर्वाचनमा ६६ वर्षपछि केरलामा वामपन्थी (कम्युनिस्ट) शासनको पतन भएको छ । यसपटकको चुनावले भारतीय राजनीतिलाई नै हल्लाइदिएको छ । विशेष गरी, दक्षिण भारतको चलचित्र क्षेत्रका सुपरस्टार थलापति विजयले तमिलनाडुमै पहिलोपटक पार्टी गठन गरी पहिलो प्रयासमै सरकार बनाउहुने पक्का भएको छ ।
भारतीय जनता पार्टी (बीजेपी) ले पश्चिम बंगालको २९४ सदस्यीय विधान सभा निर्वाचनमा कीर्तिमानी जित हात पारेको छ । भारतीय निर्वाचन आयोगको नतिजाअनुसार बीजेपीले १८३ सिटमा जित हासिल गर्दा, सन् २०१२ देखि सत्तामा रहेको ममता बनर्जीको तृणमूल कंग्रेस (टीएमसी) केवल ९१ सिटमा सीमित भएको छ । माकपासहितको वाम गठबन्धनले २ सिटमात्र जितेको छ ।
बंगाल बीजेपीका अध्यक्ष समिक भट्टाचार्यले पत्रकार सम्मेलन गरी भन्नुभयो– ‘यस चुनावमा जनताले तृणमूल सरकारलाई सीधै अस्वीकार गरिदिएका छन् । पश्चिम बंगाल अब दीर्घकालीन सुशासनतर्फ अगाडि बढ्नेछ र यो मोदीमय भारतको जित हो ।’
तमिलनाडुको राजनीतिमा यसपटक भूकम्प नै आएको छ । चर्चित चलचित्र अभिनेता जोसेफ विजय चन्द्रशेखर (थलापति) को पार्टी तमिलगा वेत्री कझगम (टीवीके) ले पहिलो पार्टी भएको छ । टीवीकेले २३४ सिट मध्ये १०५ भन्दा बढी सिटमा जित हासिल गरेको छ, जुन आवश्यक बहुमत ११८ भन्दा केही कम हो । तर, दोस्रो ठूलो पार्टी एआइएडीएमके ६२ सिट र तेस्रो स्थानमा रहेको सत्तारूढ डीएमके ४४ सिट ले समर्थन दिने भएकाले थलापति विजय नै मुख्य मन्त्री बन्ने निश्चित देखिन्छ ।
थलापति विजयका पिता एस.ए. चन्द्रशेखरले आफ्नो छोराको सफलताप्रति भावुक हुँदै भन्नुभयो– ‘पछिल्लो ३० वर्षदेखि उसले तमिलनाडुको लागि केही गर्नुपर्छ भन्ने सोचेको थियो । उसको आत्मविश्वास अद्भूत थियो र आज ऐतिहासिक सफलता हात लागेको छ ।’ विजय आफैं तिरुचिरापल्ली पूर्वबाट ३ हजारभन्दा बढी मतले निर्वाचित भएका छन् भने मुख्यमन्त्री एम.के. स्टालिन कोलाथुरमा पराजित भएका छन् ।
केरलामा पनि वामपन्थी मोर्चा (एलडीएफ) को सरकार ढलेको छ । यहाँ कांग्रेस नेतृत्वको युनाइटेड डेमोक्रेटिक फ्रन्ट (यूडीएफ) ले १४० मध्ये १०० सिट जित्दै स्पष्ट बहुमत हासिल गरेको छ । जबकि, गठबन्धन सरकार चलाइरहेको वामपन्थी लोकतान्त्रिक मोर्चा (एलडीएफ) ३६ सिट र एनडीए २ सिटमा सीमित भएको छ ।
असममा भारतीय जनता पार्टीले यहाँ पनि सरकार बनाउने भएको छ । १२६ सिटमध्ये बीजेपीले १०० सिट जितेको छ, कांग्रेस २२ सिट र एआईयूडीएफ २ सिटमा सीमित भएको छ । केन्द्र शासित प्रदेश पुडुचेरीमा एनडीए गठबन्धनले १८ सिट जित्दा, कांग्रेसले ७ र अन्यले ५ सिट जितेका छन् ।
यी सबै परिणामहरूले भारतीय राजनीतिमा बीजेपीको प्रभाव उत्तरदेखि दक्षिणसम्म बढेको देखाउँदै गर्दा, साथै अभिनेता थलापति विजयको उदयले दक्षिणको राजनीतिमा तेस्रो शक्तिका रूपमा नयाँ इतिहास लेखेको छ ।











प्रतिक्रिया