रौतहट।
रौतहटको गौर भन्सार क्षेत्रबाट शुक्रवार दिउँसो प्रतिबन्धित लागुऔषधसहित अटो र चालकलाई संयुक्त सुरक्षा टोलीले पक्राउ गरेको छ।
गौर नगरपालिका–२ स्थित भन्सार ढाँटमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म गौर र नेपाल प्रहरीको भन्सार सुरक्षा गार्डबाट खटिएको संयुक्त टोलीले चेकजाँचका क्रममा अटोमा लुकाईछिपाइ राखिएको लागुऔषध बरामद गरेको हो।
भारतबाट नेपालतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००३ ह १११० नम्बरको अटोमा शंका लागेर जाँच गर्दा चालकको सिटमुनि लुकाइ राखिएको अवस्थामा

प्रतिविधित लागुऔषध डायजेपाम इन्जेक्सन IP २ मि.लि. (१०० थान) प्रोमेथाजिन हाइड्रोक्लोराइड इन्जेक्सन (१०० पिस) र बुप्रेनोर्फिन इन्जेक्सन IP २ मि.लि. (१०० पिस) सहित रौतहटको राजदेवी नगरपालिका–७ मुडवलवा गाउँका २० वर्षीय अटो चालक मोहन पण्डितलाई नगद नेपाली ४९० रुपैयाँ, भारतीय १०० रुपैयाँ, एक थान एन्ड्रोइड मोबाइल र अटो सहित नियन्त्रणमा लिइएको डिएसपी प्रेमसागर विष्टले बताउनु भयो ।
साथै करिब ५ ग्राम गाँजाजस्तो देखिने पदार्थ पनि फेला परेको छ। पक्राउ परेका पण्डितलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको छ। सशस्त्र प्रहरीले सीमा क्षेत्रमा लागुऔषध तथा अवैध गतिविधि नियन्त्रणका लागि निगरानी अझ कडा बनाएको जनाएको छ।











प्रतिक्रिया