नेशनल लाइफद्वारा अभिकर्तालाई एकदिने तालिम


काठमाडौँ
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न शाखा कार्यालयमा आवद्ध अभिकर्तालाई एकदिने तालिम प्रदान गरेको छ ।

प्रेरणा, प्रगति र पेशागत उत्कृष्टता लक्ष्यसहित सञ्चालन गरिएको मासिक योजना “मन्थन २०८२” अन्तर्गत तोकिएको बीमाशुल्क संकलन गरी छनोट भएका सुदूरपश्चिम र कर्णाली प्रदेशका सबै तथा लुम्बिनी प्रदेशका केही शाखाका गरी १ सय ६० जना अभिकर्तालाई महेन्द्रनगरको शुक्लाफाँटा स्थित होटल ओपेरामा अन्तर्राष्ट्रिय प्रशिक्षक सैयद अफ्जल अहमदले एमडिआरटी लक्ष्य हासिल गर्ने उपायबारे उदाहरणसहित प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा कम्पनीका सहायक महाप्रबन्धक विवेक शर्माले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो भने सुदूरपश्चिम प्रदेश प्रमुख नवीनकिशोर भट्टले स्वागत मन्तव्य राख्नुभएको थियो । एजेन्सी विभाग प्रमुख सुशीलप्रताप राणाले अभिकर्तालाई पेशागत उत्कृष्टता हासिल गर्न कम्पनीले विभिन्न योजनामार्फत तालिम दिँदै आएको जानकारी दिनुभयो ।

कार्यक्रममा उत्कृष्ट कार्य गर्ने अभिकर्ताहरूलाई सम्मानसमेत गरिएको थियो। सहभागी अभिकर्ताहरूले अन्तर्राष्ट्रिय प्रशिक्षकबाट तालिम पाउने अवसर प्रदान गरेकोमा कम्पनीप्रति आभार व्यक्त गरेका छन्।