काठमाडौं।
फुटबल बजारमा करोडौँको अन्धाधुन्ध लगानी र महानायकहरूको भीड जम्मा गर्दैमा सफलताको शिखर चुम्न सकिँदैन भन्ने कुरा फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले विश्वसामु एउटा जीवन्त उदाहरण बनेर प्रमाणित गरिदिएको छ ।
दुई सिजनअघिसम्म लियोनेल मेसी, नेयमार जुनियर र किलियन एम्बाप्पेजस्ता विश्व फुटबलका सबैभन्दा ठूला र महँगा ‘ब्रान्ड’हरू एउटै टोलीमा अटाउँदा पीएसजीलाई ब्रह्माण्डकै शक्तिशाली ‘सुपर टिम’ मानिएको थियो ।
तर, विडम्बना ! यी नामुद स्टारहरूको उपस्थितिले पीएसजीलाई घरेलु मैदानमा त राजा बनायो, तर युरोपेली क्लब फुटबलको सर्वोच्च मञ्च यूईएफए च्याम्पियन्स लिगमा भने सधैँ फिक्का र असफल सावित गरायो ।
पीएसजीले च्याम्पियन्स लिग जित्नका लागि कुनै कसर बाँकी राखेको थिएन । नेयमार भित्र्याइयो, एम्बाप्पेलाई हरेक एकाधिकार दिइयो र मेसी थपिए, तर उपाधि जति प्रयास गर्दा पनि मृगतृष्णा नै बनिरह्यो ।
अन्ततः लगातारको चोटका कारण नेयमार साउदी लागे, आन्तरिक द्वन्द्वले मेसी अमेरिका बसाइँ सरे भने लगातार ‘रियल मड्रिड जान्छु’ भन्दै क्लबलाई धम्क्याउने र मत्ताइँ देखाउने एम्बाप्पेलाई पीएसजीले बिदाइ गरिदियो ।
धेरै पैसा बगाएर पनि कहिल्यै च्याम्पियन बन्न नसकेको पीएसजीले जब यी सुपरस्टारहरूको अहंकार र दबाबबाट मुक्ति पायो, तब टोलीमा एउटा अभूतपूर्व जादुमय परिवर्तन देखियो ।
प्रशिक्षक लुइस एनरिकेको कुशल नेतृत्वमा युवा, जोशिला र प्रतिभावान खेलाडीहरू समेटेर बनेको एउटा बलियो ‘ब्यालेन्स’ टिमले अन्ततः युरोपेली फुटबलमा आफ्नो सुनौलो साम्राज्य खडा गरिदिएको छ ।
ठूला स्टारबिनाको यही ऊर्जावान टोलीले अचम्मको सन्तुलन देखाउँदै पछिल्ला तीन सिजनमा दुई पटक च्याम्पियन्स लिग जितेर सिङ्गो खेल जगतमा सनसनी मच्चाइदिएको छ ।
रोचक कुरा त के छ भने, जुन च्याम्पियन्स लिगको ट्रफी चुम्ने सपना बोकेर एम्बाप्पे स्पेनको रियल मेड्रिडतर्फ कुदेका थिए, उनी त्यहाँ लगातार दुई सिजन ट्रफीविहीन बन्नुपरेको छ ।
आजको दिनमा फुटबलको सबैभन्दा ठूलो पीडा र पश्चाताप कसैलाई छ भने त्यो केवल एम्बाप्पेलाई मात्र छ । जसले अहंकार र सर्तहरूको पछि लाग्दा ऐतिहासिक अवसर गुमाए, अनि आज शायद अचम्मको आत्मग्लानिमा बाँचिरहेका छन् ।
यसै ऐतिहासिक लय र आत्मविश्वासी यात्रालाई निरन्तरता दिँदै शनिवार राति हंगेरीको बुडापेस्टस्थित पुस्कास एरेनामा भएको रोमाञ्चक र श्वास रोकिने फाइनल भिडन्तमा पीएसजीले इंग्लिस क्लब आर्सेनललाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित गर्दै लगातार दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि आफ्नो कब्जामा पा¥यो ।
खेलको छैटौँ मिनेटमै काई हाभट्र्सको सानदार गोलमार्फत प्रिमियर लिग विजेता आर्सेनलले अग्रता लिँदै उत्कृष्ट सुरुवात गरेको थियो । तर, खेलको ६५ औँ मिनेटमा क्रिस्टियन मोस्केराले ख्भिचा क्वारात्स्खेलियामाथि पेनाल्टी बक्सभित्र फाउल गरेपछि पीएसजीले पेनाल्टीको सुनौलो मौका पायो ।
जसलाई उस्मान डेम्बेलेले सहजै गोलमा परिणत गर्दै खेललाई १–१ को रोमाञ्चक बराबरीमा ल्याए । निर्धारित ९० मिनेट र त्यसपछिको अतिरिक्त समयमा दुवै टोलीले आक्रामक खेल पस्किए पनि थप गोल हुन सकेन र खेलको अन्तिम निर्णय पेनाल्टी सुटआउटबाट भयो ।
दबाबले भरिएको उक्त पेनाल्टी सुटआउटमा पीएसजीका खेलाडीहरू बढी शान्त र मानसिक रूपमा बलियो देखिए । आर्सेनलका एबेरेची एजे र भरपर्दा रक्षक ग्याब्रियल मगलहाएसको प्रहार चुकेपछि मिकेल आर्टेटाको नेतृत्वमा रहेको आर्सेनलको पहिलो पटक युरोपियन च्याम्पियन बन्ने ऐतिहासिक सपना फेरि एकपटक अधुरै रहन पुग्यो ।
उत्कृष्ट सिजन बिताएर पनि आर्सेनल अन्तिम बाधा पार गर्न नसक्दा स्तब्ध बन्यो भने लुइस एनरिकेको नयाँ जोशले भरिएको पीएसजीले लगातार दोस्रो वर्ष युरोपेली क्लब फुटबलको सर्वोच्च मुकुट पहिरिँदै आफूलाई युरोपको सर्वश्रेष्ठ क्लबको रूपमा स्थापित गरेको छ ।
यसरी नामभन्दा ठूलो टिम भावना र अहंकारभन्दा ठूलो अनुशासन हुन्छ भन्ने कुरा देखाउँदै पीएसजीले फुटबल इतिहासमा एउटा प्रेरक र प्रेरणादायी अध्याय लेखेको छ ।











प्रतिक्रिया