रविको भारत भ्रमणले रास्वपाभित्रै तरंग

बालेन–रवि सम्बन्ध र कूटनीतिक सन्तुलनमाथि प्रश्न

1.41k
Shares

काठमाडौं

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको प्रस्तावित भारत भ्रमणलाई लिएर पार्टीभित्र मात्र होइन, कूटनीतिक वृत्त र राष्ट्रिय राजनीतिमै तीव्र बहस सुरु भएको छ । भारतसँगको सम्बन्ध संवेदनशील मोडमा पुगेको बेला सत्तारुढ दलका शीर्ष नेताको सम्भावित भ्रमणलाई अनेक कोणबाट हेरिन थालेको हो ।

भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा लामिछाने जेठ १८ गते दुईदिने भ्रमणका लागि नयाँदिल्ली जान लागेको चर्चा सार्वजनिक भएसँगै रास्वपाभित्र हलचल मच्चिएको छ । भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, विदेश सचिव विक्रम मिश्री तथा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटघाटको तयारी भएको चर्चा राजनीतिक वृत्तमा फैलिएको थियो ।

तर, पार्टी स्रोतहरूका अनुसार यस्तो महत्वपूर्ण भ्रमणबारे रास्वपाको केन्द्रीय समितिलाई औपचारिक जानकारीसमेत छैन । अझ चासोको विषय त के छ भने प्रधानमन्त्री मोदीसँग समेत भ्रमणबारे पर्याप्त छलफल नभएको दाबी गरिएको छ ।

रास्वपाका एक नेताले भने– ‘सत्तारुढ दलको सभापति विदेश भ्रमणमा जाँदा त्यो केवल व्यक्तिगत भ्रमण रहँदैन । पार्टी र सरकार दुवैको धारणा जोडिन्छ । त्यसैले संस्थागत निर्णय आवश्यक हुन्छ ।’ विवाद बढेपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले रास्वपा सभापति लामिछानेको भ्रमणलाई सरकारको औपचारिक भ्रमणसँग जोडेर नहेर्न आग्रह गर्नुभएको छ ।

तर, राजनीतिक विश्लेषकहरूका अनुसार सत्तारुढ दलका सभापतिको विदेश भ्रमणलाई पूर्ण रूपमा निजी भन्न कठिन हुन्छ । विशेषगरी नेपाल–भारत सम्बन्ध संवेदनशील बनेको बेला यस्तो भ्रमणले राजनीतिक तथा कूटनीतिक सन्देश दिने उनीहरूको बुझाइ छ । पछिल्लो समय नेपाल–भारत सम्बन्धमा केही असहजता देखिएको छ । लिपुलेक हुँदै भारत–चीन व्यापार विस्तारको सहमतिपछि नेपाल सरकारले दुवै मुलुकलाई कूटनीतिक नोट पठाएको विषय सार्वजनिक भएको थियो । कालापानी, लिम्पियाधुरा, सुस्ता, पञ्चेश्वर आयोजना तथा लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलजस्ता विषयमा नेपालभित्र भारतप्रति असन्तुष्टि बढिरहेको छ ।

यहीबीच भारतीय विदेश सचिव मिश्रीको नेपाल भ्रमण स्थगित भएको तथा परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमण पनि अन्योलमा परेको चर्चा चलिरहेका बेला लामिछानेको सम्भावित दिल्ली यात्रा थप अर्थपूर्ण रूपमा हेरिएको छ । कूटनीतिक जानकारहरूका अनुसार स्पष्ट एजेन्डा, तयारी र संस्थागत सहमतिबिना हुने उच्चस्तरीय भ्रमणले उल्टै भ्रम र अविश्वास बढाउन सक्छ । ‘सत्तारुढ दलका शीर्ष नेताले छिमेकी मुलुकसँग भेटवार्ता गर्दा राष्ट्रिय हित, सीमा विवाद, आर्थिक सम्बन्ध र सुरक्षा चासोलाई स्पष्ट रूपमा परिभाषित गर्नुपर्छ’ – एक पूर्वराजदूतले बताए ।

गत वर्षको जेन–जी आन्दोलनपछि उदाएका दुई पात्र रवि लामिछाने र बालेन शाहबीचको समीकरणले नै रास्वपाको राजनीतिक उचाइ निर्माण गरेको विश्लेषण गरिन्छ । भ्रष्टाचारविरोधी भाष्य, पुराना दलप्रतिको आक्रोश र युवापुस्ताको समर्थनले उनीहरूलाई वैकल्पिक शक्तिका रूपमा स्थापित गरेको थियो । तर, पछिल्लो समय कूटनीतिक विषयमा प्रधानमन्त्री शाहको अभिव्यक्ति र छिमेकी मुलुकप्रतिको धारणा विवादमा तानिँदै आएको छ । कतिपय कूटनीतिक विश्लेषकहरूले ‘अनुभवहीन कूटनीतिक प्रस्तुति’ले नेपाललाई अनावश्यक असहजतामा पु¥याएको टिप्पणी गर्न थालेका छन् ।

यस्तो अवस्थामा लामिछानेको भारत भ्रमणलाई कतिपयले सम्बन्ध सुधारको प्रयासका रूपमा हेरेका छन् भने कतिपयले यसलाई पार्टीभित्र शक्ति सन्तुलन र वैदेशिक सम्बन्धमा अलग लाइन निर्माणको संकेतका रूपमा व्याख्या गरेका छन् । रास्वपा स्रोतका अनुसार भ्रमणबारे अन्तिम निर्णय अझै स्पष्ट भइसकेको छैन । पार्टीभित्रै तयारीबिना भ्रमणमा जान नहुने मत बलियो बन्दै गएको छ । ‘भारत जाँदा कसलाई भेट्ने, के एजेन्डा राख्ने, कुनै रणनीतिक प्रस्ताव आए कसरी प्रतिक्रिया दिने भन्नेबारे गृहकार्य आवश्यक हुन्छ’ – एक नेताले बताए ।

यता, राजनीतिक वृत्तमा भने अर्को प्रश्न पनि उठ्न थालेको छ । लामिछानेको यो भ्रमण केवल कूटनीतिक संवाद हो कि नेपालभित्रको बदलिँदो शक्ति समीकरणसँग जोडिएको सन्देश हो भन्ने विषयमा चर्चा चल्न थालेको छ ।