यामाहाको क्षेत्रीय सीप प्रतियोगिता सम्पन्न, ३० प्रतियोगी राष्ट्रिय चरणमा


काठमाडौं।

नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्ल्यू राइड्स प्रालिले यामाहा ट्रेनिङ एकेडेमी (YTA) अन्तर्गत आयोजित क्षेत्रीय बिक्री तथा सेवा सीप प्रतियोगिता २०८२/८३ सफलतापूर्वक सम्पन्न गरेको छ।

देशभरका डिलर नेटवर्कमा कार्यरत उत्कृष्ट बिक्री तथा सेवा कर्मचारीहरूको सीप अभिवृद्धि, मूल्याङ्कन र सम्मान गर्ने उद्देश्यले आयोजित प्रतियोगिता काठमाडौं, इटहरी, बर्दिबास, भरतपुर, नेपालगञ्ज तथा बुटवललगायत विभिन्न क्षेत्रमा सम्पन्न भएको कम्पनीले जनाएको छ।

प्रतियोगितामा सहभागीहरूको उत्पादनसम्बन्धी ज्ञान, प्रतिस्पर्धी बजारको जानकारी, अटोमोबाइलको आधारभूत ज्ञान तथा व्यावहारिक बिक्री र सेवा सीपको परीक्षण गरिएको थियो।

बिक्रीतर्फ विराटचोकस्थित बी एन्ड बी अटो ट्रेडर्सका चूडामणि आचार्य विजेता बनेका छन्। पोखराको भाउ इन्टरप्राइजेजका समुद्र पंगेनी प्रथम उपविजेता तथा सितापाइलास्थित डी एन्ड डी अटोलिंकका अनिश महर्जन द्वितीय उपविजेता घोषित भएका छन्।

यस्तै, सेवातर्फ गोंगबुको मोटो क्राफ्टका प्रबिन सान्दा विजेता बनेका छन्। कुमारीपाटीस्थित रिसिक अटोमोबाइल्सका निरोज श्रेष्ठ प्रथम उपविजेता तथा दमकको केशव कमर्सियलका दिपन सरकार द्वितीय उपविजेता बनेका छन्।

प्रतियोगिताका विजेताहरूले भैरहवाको परासीस्थित यामाहा कारखाना अवलोकन गर्ने अवसर प्राप्त गर्नेछन्। साथै, सेवातर्फका विजेताहरूलाई विश्वस्तरीय स्किल प्रतियोगितामा सहभागी हुने अवसरसमेत प्रदान गरिने कम्पनीले जनाएको छ।

बिक्री तथा सेवा दुवै विधाका पाँच क्षेत्रबाट छनोट भएका शीर्ष तीन–तीन जना गरी कुल ३० जना प्रतियोगीले राष्ट्रिय स्तरको प्रतियोगितामा स्थान सुरक्षित गरेका छन्। उनीहरूको उत्कृष्ट प्रदर्शनले सम्बन्धित डिलरशिपहरूको व्यावसायिक विकास तथा निरन्तर सिकाइप्रतिको प्रतिबद्धता झल्काएको कम्पनीको भनाइ छ।

एमएडब्ल्यू राइड्सका अनुसार बिक्री र सेवा दुवै विधालाई समेटेर यस वर्ष पहिलो पटक संयुक्त राष्ट्रिय प्रतियोगिता आयोजना गरिएको हो। राष्ट्रिय सीप प्रतियोगिता २०८२/८३ जेठ १६ गते त्रिपुरेश्वरस्थित यामाहा ट्रेनिङ एकेडेमीमा आयोजना हुने कार्यक्रम रहेको छ।

कम्पनीले यस्ता कार्यक्रमले दक्ष जनशक्ति उत्पादन, डिलर नेटवर्क सुदृढीकरण तथा ग्राहक सेवाको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।