काठमाडौं।
नेपाली महिला राष्ट्रिय क्रिकेट टोली एसियन गेम्समा पुग्न असफल भएको छ । चीनसँग ५ विकेटले पराजित भएपछि नेपालको जापानमा हुने एसियन गेम्समा खेल्न नपाउने भएको हो ।
यो टी–२० छनोट प्रतियोगिताबाट तीन टोली एसियन गेम्समा छनोट हुने प्रावधान रहेकोमा मलेसिया र थाइल्यान्ड फाइनल पुगेर पहिले नै छनोट भएका हुन् । एक टोलीको निधो गर्न तेस्रो स्थानको खेल भएको थियो । जसमा चीन र नेपालले खेलेका थिए ।
समूह चरणमा चीनलाई हराएको आधारमा नेपाल तेस्रो टोलीको रूपमा एसियन गेम्समा छनोट हुने प्रबल सम्भावना रहेको थियो । साथै पछिल्ला तीन खेलमा नेपाल सो प्रतिद्वन्द्वीसँग नहारेको बलियो आधार थियो ।
तर, यो चौथो खेलमा नेपाल स्तब्ध बन्नु पर्दा नेपालको सट्टा चीन आगामी एसियन गेम्समा छनोट हुन सफल भयो । मलेसियाको बायोमास ओभलमा तेस्रो स्थानका लागि भएको खेलमा चीनसँग नेपाल डकवर्थ लुइस पद्दतीमा ५ विकेटले पराजित भएको थियोे ।
वर्षाले प्रभावित गर्दा ७ ओभरमा छोट्याइएको खेलमा नेपालले ५० रनको लक्ष्य दिए पनि डीएल पद्धतिअनुसार चीनले ४३ रनको लक्ष्य प्राप्त गरेको थियो । सो लक्ष्य चीनले ५ विकेट गुमाएर पूरा गरेको थियो । नेपालका लागि रिया शर्माले २ तथा सिता राना मगरले १ विकेट लिएका थिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले तोकिएको ७ ओभरमा ५ विकेट गुमाएर ५० रन जोडेको थियो । टोलीका लागि कविता कुवँरले २२ रनको सर्वाधिक योगदान दिएकी थिइन् ।











प्रतिक्रिया