ढाँटलाई न्युजिल्यान्डका मर्डोकको ध्वस्त पार्ने चेतावनी


काठमाडौं ।

रोड टु यूएफसीको सेमिफाइनल भिडन्त नजिकिँदै गर्दा न्युजिल्यान्डका मिक्स मार्सल आट्र्स (एमएमए) फाइटर कासिब मर्डोकले नेपाली फाइटर रबिन्द्र ढाँटलाई ध्वस्त पार्ने अभिव्यक्ति दिएपछि खेलको माहोल निकै तातेको छ ।

सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भइरहेको एक भिडियो सन्देशमा मर्डोकले आगामी भिडन्तलाई लिएर आफू उत्साहित रहेको बताउँदै ढाँटमाथि एउटा गम्भीर आरोप समेत लगाएका छन् । एक वर्षअघि इन्डोनेसियाको बालीमा आफूले राखेको फाइटको प्रस्तावबाट ढाँट “डराएर पछि हटेको” दावी गर्दै मर्डोकले आगामी खेलमा उनलाई “पूर्ण रूपमा ध्वस्त पार्ने” चेतावनी दिएका छन् ।

फेसबुक र इन्स्टाग्रामलगायतका प्लेटफर्महरूमा यो भिडियो सार्वजनिक भएसँगै नेपाली एमएमए प्रशंसकहरू निकै आक्रोशित बनेका छन् र उनीहरूले यस टिप्पणीलाई नेपालका चर्चित फाइटर ढाँटप्रतिको अपमानजनक व्यवहारका रूपमा लिएका छन् ।

अन्तर्राष्ट्रिय मञ्चमा ‘बझाङको बाघ’ उपनामले परिचित रबिन्द्र ढाँटले गत बिहीबार मकाउमा सम्पन्न रोड टु यूएफसीको पहिलो चरणमा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई स्तब्ध पार्दै ऐतिहासिक सफलता हासिल गरेका थिए । उक्त सानदार जितसँगै रोड टु यूएफसीमा ऐतिहासिक जित दर्ता गर्ने पहिलो नेपाली फाइटर बनेका ढाँटले ब्यान्टमवेट विधाको सेमिफाइनलमा स्थान सुरक्षित गरेका हुन् ।

आगामी अगस्ट महिनामा हुने भनिएको ढाँट र मर्डोकबीचको बहुप्रतीक्षित भिडन्तको आधिकारिक मिति र स्थानबारे यूएफसीले औपचारिक घोषणा गर्न बाँकी नै रहे पनि खेललाई लिएर सरगर्मी निकै बढेको छ । फ्यानहरूले यसलाई आत्मविश्वासले भरिएर मैदानबाहिर ‘ट्रास–टक’ गर्ने मर्डोक र अन्तर्राष्ट्रिय स्तरमा उदाउँदै गरेका शान्त स्वभावका नेपाली स्टार ढाँटबीचको प्रतिष्ठाको लडाइँका रूपमा हेरेका छन् ।

मर्डोकको यस उत्तेजक टिप्पणीबारे नेपाली फाइटर रबिन्द्र ढाँटले अहिलेसम्म सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएका छैनन् । यद्यपि, नेपाली खेल समर्थकहरूले सामाजिक सञ्जालमा मर्डोकलाई कडा जवाफ दिँदै “गोरखाली स्पिरिटलाई कमजोर नठान्न” चेतावनी दिएका छन् ।

ढाँटका पुराना प्रतिद्वन्द्वीहरूले पनि खेलअघि यस्तै दबाब सिर्जना गर्न खोजेको तर अन्ततः अक्टागन (फाइट रिङ) भित्र पराजित हुनुपरेको इतिहास स्मरण गर्दै नेपाली फ्यानहरूले मर्डोकको यो शब्दयुद्ध रिङभित्र उनी आफैँलाई भारी पर्ने दावी गरेका छन् । सामाजिक सञ्जालको यो तिक्तताले अब अक्टागनभित्र हुने वास्तविक भिडन्तलाई झनै रोमाञ्चक र प्रतिष्ठाको लडाइँ बनाइदिएको छ ।