फुटबलको मैदानमा जादुमयी ड्रिबलिङ र सटिक फ्रि–किकले संसारलाई मन्त्रमुग्ध पार्ने लियोनेल मेसीले अब आर्थिक साम्राज्यमा पनि अर्को ऐतिहासिक ‘गोल’ गरेका छन् । मैदानभित्र मात्र होइन, मैदानबाहिर पनि आफ्नो व्यावसायिक कुशलता देखाउँदै आठ पटकका ब्यालोन डी ओर विजेता मेसी आधिकारिक रूपमा अर्बपति क्लबमा सामेल भएका छन् । ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सको पछिल्लो प्रतिवेदन अनुसार, फुटबलका यी जादुगरको कुल सम्पत्ति १ अर्ब डलर (१ बिलियन डलर) पार भएको छ । यस अभूतपूर्व सफलतासँगै उनी क्रिस्टियानो रोनाल्डो र डेभिड बेकहमपछि फुटबल इतिहासमै आफ्नै मिहिनेत र खेलको बलमा अर्बपति बन्ने तेस्रो खेलाडी बनेका छन् । जसले उनको खेल कौशल जत्तिकै व्यावसायिक दूरदर्शितालाई पनि प्रमाणित गर्छ ।
धेरैलाई लाग्न सक्छ, अर्बपति बन्न उनले कुनै ठुलो आर्थिक प्रलोभन हात पारेको होला भनेर । तर, यथार्थ बेग्लै छ । सन् २०२३ मा साउदी अरेबियाको क्लबले अघि सारेको अर्बौँको विशाल प्रस्तावलाई सहजै अस्वीकार गर्दै अमेरिकी क्लब इन्टर मायमी जाने उनको निर्णय खेल इतिहासकै सबैभन्दा ठुलो ‘मास्टरस्ट्रोक’ सावित भएको छ । साउदीको त्यो भारी रकमको अफरबिना नै मेसीले कसरी यो उचाइ छोए त ? रहस्य उनले गरेको नवीन र स्मार्ट सम्झौतामा लुकेको छ ।
मायमीसँगको सम्झौता अन्तर्गत उनले आकर्षक क्लब तलब मात्र पाउँदैनन्, एप्पल टिभीको ‘एमएलएस सिजन पास’ सब्सक्रिप्सन र विश्वविख्यात ब्रान्ड एडिडासको सामान बिक्रीबाट समेत सोझै निश्चित हिस्सा आफ्नो खल्तीमा पार्छन् । इन्टर मायमीका मालिक जर्ज मासका अनुसार, मेसी अमेरिका ओर्लिएपछि स्ट्रिमिङ सेवा लिनेको संख्या रातारात दोब्बर भएको छ भने मेसीको वार्षिक आम्दानी मात्रै ७ देखि ८ करोड डलरको बीचमा रहेको छ ।
यो विशाल आर्थिक साम्राज्यको जग भने मेसीले वर्षौँदेखि बगाएको पसिना नै हो । सन् २००७ देखि यता बार्सिलोना, पेरिस सेन्ट जर्मेन (पीएसजी) र इन्टर मायमीमा रहँदा उनले केवल तलब र बोनसबाट मात्रै ७ सय मिलियन डलरभन्दा बढी कमाइसकेका छन् । यसबाहेक उनको आफ्नै ‘एमएएस+’ स्पोट्र्स ड्रिंक जस्ता लाइफस्टाइल ब्रान्डहरू र स्पेनिस रियल स्टेटमा गरिएको सुरक्षित लगानीले उनको वित्तीय जगलाई अझ बलियो बनाएको छ । कर, लगानीको प्रतिफल र व्यावसायिक प्रायोजनहरूलाई मिलाउँदा आज उनको सम्पत्तिले १ अर्ब डलरको जादुमयी आँकडा नाघेको हो । अचम्मको कुरा त के छ भने, ३८ वर्षको उमेरमा पनि मैदानमा चम्किरहेका यी २०२२ का विश्वकप विजेताले भविष्यका लागि पनि बलियो योजना बुनेका छन् । खेल जीवनबाट सन्यास लिएपछि उनले इन्टर मायमीको ठुलो हिस्सेदार बन्न पाउने विकल्प समेत सुरक्षित राखेका छन् । जसले के स्पष्ट पार्छ भने मेसीको यो अर्बपतिको यात्रा त केवल सुरुवात मात्र हो, उनको आर्थिक साम्राज्य भविष्यमा अझै कयौँ गुणा विशाल बन्ने निश्चित छ ।











प्रतिक्रिया