संयोग र योङ्गी नयाँ राष्ट्रिय च्याम्पियन


काठमाडौं।

नेपाल प्रहरीका संयोग कपाली र एपीएफकी योङ्गी पौडेलले ४२ औं राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको सिंगल्स उपाधि आइतबार जितेका छन् । संयोग पुरुष तथा योङ्गी महिलामा पहिलोपटक राष्ट्रिय च्याम्पियन बनेका हुन् । पुरुष÷महिला दुवैमा फाइनल पुग्ने चारै खेलाडी जसले जिते पनि नयाँ राष्ट्रिय च्याम्पियन बन्ने निश्चित थियो ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष फाइनलमा संयोगले आफ्नै क्लबका एलेक्स महर्जनलाई ११–५, १३–११, ११–८ र ११–१ ले पराजित गरे । राष्ट्रिय प्रतियोगिताको पुरुष सिंगल्समा संयोगको ठूलो उपलब्धि भनेको सेमिफाइनलसम्म पुग्नु हो । वागमती प्रदेशका रुविन महर्जन तथा सुदूरपश्चिम प्रदेशका हिमाल विष्ट तेश्रो भए ।

महिला सिंगल्समा योङ्गीले उपाधि यात्रा अविस्मरणीय बनाइन् । राष्ट्रिय प्रतियोगिताको पहिलो सहभागितामै १८ वर्षीया योङ्गीले उपाधि जितेकी हुन् । योङ्गीले उपाधि भिडन्तमा शीर्ष २ वरीयताकी कोशी प्रदेशकी इभाना थापाको चुनौती ११–६, ८–११, १२–१०, ११–९ र ११–८ को सेटमा पन्छाइन् । समूह चरणको खेलमा पनि योङ्गीले इभानालाई हराएकी थिइन् ।