आदर्शका भाषण दिने टिकटकर तुलसा अधिकारी प्रहरी हिरासतमा, ६ करोड ५२ लाख ठगी र ‘हनी ट्र्याप’ आरोपमा पक्राउ


काठमाडौं ।

सामाजिक सञ्जाल टिकटकमार्फत विभिन्न सामाजिक विषयमा टिप्पणी गर्दै चर्चामा आएकी टिकटकर तुलसा (तुलसी) अधिकारी पक्राउ परेकी छन्। प्रहरी स्रोतका अनुसार उनीविरुद्ध दर्ता भएको ठगी, आपराधिक लाभ (एक्सटर्सन), संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको आधारमा पक्राउ गरी हाल ललितपुर प्रहरीको हिरासतमा राखिएको छ।

जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले चार महिनाअघि अधिकारीविरुद्ध ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। उनीमाथि आफ्ना पूर्व प्रेमी शंकर चिमोरियाबाट विभिन्न बहानामा ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी गरेको आरोप छ। प्रहरी अनुसन्धानका अनुसार अधिकारीले प्रेम सम्बन्धलाई आधार बनाएर पीडितसँग ठूलो रकम असुलेको तथा पछि उक्त रकम नेपाल र चीनमा विभिन्न क्षेत्रमा लगानी गरी सम्पत्ति शुद्धीकरण गरेको आरोप लगाइएको छ।

अनुसन्धान प्रतिवेदनका आधारमा उनीविरुद्ध ठगी, आपराधिक लाभ, आपराधिक विश्वासघात, संगठित अपराध र सम्पत्ति शुद्धीकरण गरी पाँच वटा कसुरमा अभियोग दर्ता गरिएको थियो। अभियोगपत्रमा अधिकारीले सहमतिमा भएको शारीरिक सम्बन्धलाई पछि हतियारका रूपमा प्रयोग गर्दै जबर्जस्ती करणीको मुद्दा हाल्ने धम्की दिएर रकम असुलेको दाबी गरिएको छ। यही घटनालाई प्रहरीले ‘हनी ट्र्याप’ प्रकृतिको अपराधका रूपमा व्याख्या गरेको छ। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवल घर भएकी ३२ वर्षीया अधिकारीलाई यस मुद्दाको मुख्य प्रतिवादी बनाइएको छ।

अभियोगपत्रमा निलिका (नेलिका) लामिछाने, मुकेश कुमार धानुका, दिलकुमारी लिम्बु र अशोककुमार अग्रवाललगायतको समेत संलग्नता रहेको उल्लेख गरिएको छ। यसै मुद्दामा प्रतिवादी बनाइएकी २८ वर्षीया नेलिका लामिछानेलाई प्रहरीले यसअघि पक्राउ गरी साधारण जमानतमा रिहा गरिसकेको छ।

अन्य प्रतिवादीहरूमा मुकेश कुमार धानुका, दिलकुमारी लिम्बु, अशोककुमार अग्रवाल, सपना वली, मेघनाथ बस्याल, ‘कानो मामा’ भनिने प्रयास पोखरेल, गंगा अधिकारी सुवेदी, तुल्सा कलेक्सन प्रालि तथा एक फरार व्यक्ति रहेका छन्। सामाजिक सञ्जालमा सक्रिय अधिकारी विगतदेखि नै विभिन्न विवादका कारण चर्चामा रहँदै आएकी थिइन्। आफ्ना भिडियोमार्फत विभिन्न व्यक्तिविरुद्ध आक्रामक अभिव्यक्ति दिने, अपशब्द प्रयोग गर्ने तथा व्यक्तिगत विषय सार्वजनिक रूपमा उठाउने गरेका कारण उनी बेला–बेलामा आलोचनाको केन्द्रमा पर्ने गरेकी थिइन्।

प्रहरीले भने मुद्दा अदालतमा विचाराधीन रहेकाले अनुसन्धान र अदालती प्रक्रियाअनुसार थप कारबाही अघि बढाइने जनाएको छ। अदालतबाट दोषी ठहर नभएसम्म कुनै पनि व्यक्ति कानुनी रूपमा निर्दोष मानिने सिद्धान्तअनुसार यस प्रकरणको अन्तिम टुंगो न्यायिक प्रक्रियाबाट लाग्नेछ।