–आयोगको सहमतिपत्र आउँदा पनि शिक्षा मन्त्रालयले होल्ड गरेको खुलासा
काठमाडौं ।
लोकसेवा आयोगले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षको सिफारिस गरेको करिब डेढ महिना पुगिसक्दा पनि नियुक्ति हुन सकेको छैन । आयोगले सबै प्रक्रिया पूरा गरी अध्यक्षको नाम सिफारिस गरेर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पठाएको थियो । तर, मन्त्रालयले होल्ड गरेको छ ।
निर्वाचन आचारसंहिताका कारण अध्यक्ष नियुक्ति गर्न नमिल्ने भन्दै मन्त्रालय पन्छिएको थियो । निर्वाचन आयोगले माघ २३ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई पत्र पठाएर रापबोर्डको अध्यक्ष नियुक्ति गर्न सिफारिस दिएको थियो । आयोगले माघ २३ गते सहमतिपत्र पठाउँदासमेत मन्त्रालयले नियुक्ति गरेन । उच्चस्रोतका अनुसार प्रतिस्पर्धाबाट बाहिर परेका उम्मेदवारले अध्यक्षमा सिफारिस गरेका व्यक्तिलाई अध्यक्ष बनाउन नहुने भन्दै लबिङ गरेका थिए ।
‘आयोगले गरेको निर्णयअनुसार सिफारिस भएका व्यक्तिलाई अध्यक्षमा नियुक्ति गर्नेपर्छ । तर, मन्त्रालयले पत्रको समेत बेवास्ता गरेको आरोप लागेको छ । छनोट समितिले गरेको निर्णयमा मन्त्रालयले अब्जेक्सन गर्न पाउँदैन’ – छनोट समितिका एक सदस्यले नेपाल समाचारपत्रसँग भने । तर, मन्त्रालयले सिफारिस हुन नसकेका व्यक्तिको पछाडि लागेर भएका व्यक्तिलाई होल्ड गरेको छ ।
स्रोतका अनुसार बोर्डका उपाध्यक्ष एवं शिक्षा सचिव चूडामणि पौडेलले निर्वाचन आयोगले अध्यक्ष सिफारिस गर्न सहमति दिएको पत्र पठाएको थियो । सो विषयमा सचिव पौडेलले शिक्षा मन्त्रालयको समेत जिम्मेवारी पाउनुभएको प्रधानमन्त्रीसँग छलफल गर्नुभएको थियो । ‘निर्वाचन आउनै लागेका कारण स्थगित भएको थियो । अब सिफारिस प्रक्रिया अघि बढ्नेछ’ –शिक्षा सचिव चूडामणि पौडेललले नेपाल समाचारपत्रसँग भन्नुभयो ।
अबको एक सातामा नयाँ मन्त्रीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वागडोर सम्हालेपछि नियुक्ति गर्ने तयारी छ । सिफारिस भएका गोप्य नाम आन्तरिक रूपमा सार्वजनिक भएपछि प्रतिस्पर्धामा रहेका तर सिफारिस नभएका व्यक्तिले अहिलेलाई होल्ड गर्न आग्रह गरेपछि मन्त्रालयले रोकेको मन्त्रालय स्रोतले भन्यो ।
आयोगले छनोटमा परेका ७ जनाको अन्तर्वार्ता लिएर ३ जनाको नाम सिफारिस गरेको थियो ।
छनोटमा परेका ७ जनामा डा. कृष्णप्रसाद आचार्य, डा. जगतकृष्ण पोखरेल, पुष्पराज जोशी, प्रा.डा. बाबुराम खनाल, डा. राजेन्द्रकुमार पोखरेल, डा. राजेन्द्रप्रसाद चापागाईं र डा. रामचन्द्र पाण्डे रहनुभएको थियो । आयोगले करिब डेढ महिनाअघि छनोट भएकामध्ये ३ जनाको नाम लाहछाप लगाएर मन्त्रालयमा बुझाएको थियो । बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस गर्न गठित सिफारिस समिति अवधारणापत्र र व्यावसायिक कार्ययोजना प्रस्तुतीकरणपछि अन्तर्वार्ता भएको थियो ।
शिक्षा ऐन, २०२८ को दफा ४ ‘क’ को उपदफा (३) बमोजिम गठित सिफारिस समितिद्वारा स्वीकृत ‘राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षको नियुक्तिका लागि सिफारिस गर्न गठित सिफारिस समितिको बैठक र छनोटसम्बन्धी कार्यविधि, २०८२’ को दफा ९ बमोजिम दफा ११ को (क) र (ख) कार्य अनुभव र शैक्षिक योग्यता बापतको अङ्क गणना गरी ७ (सात) जना उम्मेदवारको नाम सिफारिस गरेको थियो ।
‘कक्षा १० को परीक्षा चैत १९ देखि र १२ को वैशाख १४ बाट सुरु हँुदै छ । परीक्षा आउनु करिब दुई महिनाअघि सिफारिस भएका अध्यक्ष नियुक्ति गर्न नखोज्नु मन्त्रालयको लापरबाही हो’ –स्रोतले भन्यो । बोर्डमा अध्यक्ष नियुक्ति गर्न नसक्दा लामो समयदेखि नीतिगत सबै काम रोकिएको छ । बोर्डमा पुस १२ बाट अध्यक्ष रिक्त भएको थियो ।
स्रोतका अनुसार सिफारिस समितिले त्रिभुवन विश्वविद्यालयका पूर्वपरीक्षा नियन्त्रक पुष्पराज जोशीको नाम परेको हल्ला चलाएको छ । त्रिविको छानबिन समितिले कारबाही गर्न सिफारिस गरेको व्यक्तिलाई अध्यक्ष नियुक्ति गर्न लागेको केहीले आरोप लगाएका छन् ।











प्रतिक्रिया