यामाहाद्वारा नेपालमै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक


काठमाडौँ

यामाहाले ग्लोबल मापदण्डअनुसार नेपालमै पहिलो पटक हाइब्रिड मोटरसाइकल सार्वजनिक गर्दै मोटरसाइकल क्षेत्रमा नयाँ युगको सुरुवात गरेको छ ।

काठमाडौंको कमलादीस्थित अग्लो स्काइ टावरमा आयोजना गरिएको भव्य कार्यक्रममा कम्पनीले नवप्रवर्तन र प्रविधिलाई प्राथमिकता दिँदै नयाँ सेग्मेन्टको सुरुवात गरेको जनाएको छ । कार्यक्रमलाई दुई चरणमा विभाजन गरी पहिलो चरणमा प्रभावशाली व्यक्तित्व तथा सामग्री सिर्जनाकर्ताहरूलाई विशेष पूर्वअवलोकन गराइएको थियो भने दोस्रो चरणमा सञ्चारकर्मी, व्यवसायिक साझेदार, विक्रेता, राइडिङ समूहका नेतृत्वकर्ता तथा रेसरहरूको सहभागिता रहेको थियो। कार्यक्रममा अध्यक्ष विष्णु कुमार अग्रवाल, प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवाल तथा अन्तर्राष्ट्रिय बजारसँग सम्बन्धित अधिकारीहरूको उपस्थिति रहेको थियो भने वर्षा बस्नेत र श्रीहरी पौडेलजस्ता चर्चित व्यक्तित्वहरू पनि सहभागी भएका थिए ।

एफजेड सिरिजमा आधारित यो हाइब्रिड मोटरसाइकलमा १ सय ४९ सीसी क्षमताको इन्धन–इन्जेक्सन इन्जिनलाई स्मार्ट मोटर असिस्ट प्रविधिसँग संयोजन गरिएको छ । नेक्स्ट जेनेरेशन हाइब्रिड प्रणालीले विद्युतीय सहयोगमार्फत तीव्र गति वृद्धि, सहज स्टार्ट–स्टप प्रणाली, सुधारिएको इन्धन खपत तथा कम प्रदूषण सुनिश्चित गर्छ । विशेषगरी सहरी आवागमनका लागि उपयुक्त यस मोटरसाइकलले सुरुवाती गति र कम स्पिडमा सहज शक्ति प्रदान गर्दै दैनिक प्रयोगलाई अझ प्रभावकारी बनाउनेछ ।

मोटरसाइकलमा १३५ केजी तौलको हल्का संरचना, सिंगल च्यानल बोश एबीएस, २२० एमएम पछाडिको डिस्क ब्रेक, चौडा रेडियल टायर तथा आधुनिक एलईडी हेडलाइट, एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर जस्ता सुविधा समावेश गरिएका छन् । साथै कम्पनीले अनुभव क्षेत्रमार्फत मोटरसाइकलको इतिहास, डिजाइन र हाइब्रिड प्रविधि नजिकबाट अवलोकन गर्ने अवसर पनि प्रदान गरेको थियो ।

नेपालभर १ सयभन्दा बढी डिलरसिप, ९५ सेवा केन्द्र र ११७ आधिकारिक सेवा प्रदायकमार्फत यामाहाले बिक्रीपछिको सेवा सुदृढ बनाएको जनाएको छ । कार्यक्रममा कम्पनीले अनुप विक्रम शाहीलाई ब्रान्ड एम्बेसडरका रूपमा घोषणा गर्दै ब्रान्डको पहिचान थप मजबुत बनाएको छ । यस हाइब्रिड मोटरसाइकलले उच्च माइलेज, कम खर्च र वातावरणमैत्री विशेषतासहित नेपालको परिवर्तित यातायात आवश्यकतालाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ । कार्यक्रमले नेपालको मोटरसाइकल उद्योगमा नयाँ सम्भावनाको सुरुवात भएको संकेत दिएको छ ।