नेपालको लक्ष्य सिरिजमा चारै खेल जित्ने

आज स्कटल्यान्डसँग खेल्दै


काठमाडौं ।

आईसीसी विश्वकप लिग २ अन्तर्गत् नेपालको सातौं चरणको त्रिकोणात्मक सिरिज आजबाट सुरु हुँदैछ । आफ्नै घरेलु मैदानमा हुने सिरिजमा नेपालले अमेरिका र स्कटल्यान्डविरुद्ध खेल्नेछ । नेपालको लक्ष्य सबै चार खेल जित्ने हो ।

अंकतालिकामा नेपाल अमेरिका र स्कटल्यान्डसँग धेरै पछाडि छ । शीर्ष स्थानमा रहेको अमेरिकाले ३६ अंक र दोस्रो स्थानमा रहेको स्कटल्यान्डले ३४ अंक जोड्दा नेपालसँग मात्र १८ अंक रहेको छ ।

स्कटल्यान्ड नेपालको लागि सँधैं कठिन टोली रहेको छ । गत वर्ष यसै प्रतियोगिताको त्रिकोणात्मक सिरिजमा नेपालले स्कटल्यान्डमा मिश्रित नतिजा निकालेको थियो ।

पहिलो खेलमा नेपाल १ विकेटले जित्दा दोस्रो खेलमा स्कटल्यान्ड २ रनले जितेको थियो । यसैले पनि यी दुई टोली एक अर्काका लागि कडा प्रतिद्वन्द्वी भइरहेका छन् । दुबै खेलमा उच्चतम रन बनेको थियो ।

पहिलो खेलमा स्कटल्याण्डले दिएको २ सय ९७ रनको लक्ष्य नेपालले १ बल बाँकी राखेर ९ विकेटको क्षतिमा पूरा गरेको थियो । त्यसो त यस खेलमा नेपालको जित संभव नै देखिएको थिएन ।

नेपालले १ सय ९२ रन जोड्दासम्म सात जना खेलाडी गुमाइसकेको थियो । जितका लागि ७० बलमा १ सय ६ रन अझै आवश्यक थियो । तर, गुल्सन झाले ४२ रन र करण केसीले ६५ रनमा नटआउट रहँदैं जित संभव तुल्याएका थिए ।

दोस्रो खेलमा स्कटल्याण्डले ३ सय २४ रनको विशाल विजय लक्ष्य दिएको थियो । यसको जवाफमा नेपाल जितको नजिक पुगेर पनि हार बेहोरेको थियो । नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर ३ सय २१ रन बनाएको थियो । पहिलो खेलमा हारको कगारमा थियो भने दोस्रो खेलमा जितको कगारमा थियो । तर, विपरित नतिजा आएको थियो ।

त्रिवि मैदानमा भने स्कटल्यान्ड र नेपालको भेट ३ वर्षपछि हुँदैछ । गत २०२३ मा भएको सिरिजमा नेपालले दुबै खेलमा स्कटल्यान्डलाई हराएको थियो । यो जितको निरन्तरतालाई अहिले पनि जारी राख्ने टोलीका कप्तान रोहित पौडेलेले प्रतिबद्धता गरिसके ।