लन्डन, (एजेन्सी) ।
गत जनवरीमा फाइनल जितेर अफ्रिका कप अफ नेसन्सको विजेता बनेको सेनेगलसँग मंगलबार उपाधि खोसिएको छ । जनवरी १८ मा भएको फाइनलमा सेनेगलले आयोजक टोली मोरक्कोलाई १–० ले हराएर उपाधि जितेको थियो । तर, अफ्रिकन फुटबल महासंघले मंगलबार सेनेगलको जितको नतिजा उल्ट्याएर मोरक्कोलाई ३–० को जित भएको घोषणा गरेको थियो । योसँगैं अफ्रिका कप अफ नेसन्स २०२५ को उपाधि विजेता मोरक्को भएको छ ।
उक्त फाइनल खेलमा निर्धारित समय सकिन लाग्दा मोरक्कोलाई पेनाल्टी दिइएपछि सेनेगलका खेलाडीहरूले विरोध गर्दै केही समय खेल्न अस्वीकार गरेका थिए । करिब १७ मिनेटपछि खेल फेरि सुरु भयो । त्यसपछि ब्राहिम डियाजले प्रहार गरेको पेनाल्टीलाई सेनेगलका गोलकीपरले बचाएका थिए । अतिरिक्त समयमा पापे गेयेले गोल गर्दै सेनेगललाई जित दिलाएका थिए ।
तर अहिले काफको अपिल समितिले फाइनलको नतिजा रद्द गरेको छ । नयाँ निर्णयअनुसार सेनेगलले नियम उल्लंघन गरेको ठहर गर्दै फाइनल खेलको नतिजा ३–० ले मोरक्कोको पक्षमा दियो । काफको अनुसार खेलका क्रममा सेनेगल टोलीको व्यवहारले प्रतियोगिताको नियम उल्लंघन गरेको थियो । नियमअनुसार कुनै टोलीले खेल्न अस्वीकार गरेमा वा अनुमति बिना मैदान छोडेमा उक्त टोलीको हार मानिन्छ ।
सेनेगल फुटबल महासंघले यस काफको निर्णयविरुद्ध अपिल गर्ने बताएको छ । महासंघले भन्यो—कासको यो निर्णय अनुचित छ । यस अस्विकार्य निर्णयले अफ्रिकी फुटबललाई नराम्रो गरेको छ ।
सेनेगलका केही खेलाडीहरूले आफ्ना विजेताहरूको पदक नत्याग्ने बताएका छन् । ‘‘कसैले पनि हामीबाट हाम्रो खुशी खोस्न सक्दैन,“ सेनेगल र एभर्टनकी मिडफिल्डर इद्रिसा गुएयेले सामाजिक सञ्जालमा लेखेका थिए ।











प्रतिक्रिया