जेठमा एक मुठी बादल


तीव्र गतिमा परिवर्तनशील नेपाली समाजको पृष्ठभूमिमा परिवारका सदस्यबिचको अपेक्षा, त्याग र व्यक्तिगत आकांक्षालाई रोचक शैलीमा प्रस्तुत गरिएको फिल्म एक मुठी बादल ः माई सेयर अफ स्काई आगामी जेठ १ गते रिलिजमा आउने भएको छ।

अधिकांश विधामा महिलाको नेतृत्व रहेको फिल्म गौंथली इन्टरटेनमेन्ट र मन प्रोडक्सनले निर्माण गरेको हो। तीन पुस्तादेखिको भावनात्मक उतारचढावलाई प्रस्तुत गर्ने फिल्ममा सहारा शर्माको लेखन र निर्देशन रहेको छ। अमेरिकाको न्युयोर्क बस्दै आएकी सहाराले यसअघि चेजिङ रेन्बोज नामक फिल्म निर्देशन गरेकी थिइन्। उनको फिल्म २०१३ मा काठमाडौं अन्तर्राष्ट्रिय माउन्टेन फिल्म फेस्टिभलको ओपनिङ फिल्म थियो।

फिक्सन फिचरका साथ महोत्सवको उद्घाटन गर्ने सहाराले यही महोत्सवको नेपाली पनोरोमातर्फको शीर्ष पुरस्कार जितेकी थिइन्। एक मुठी बादलले पनि थुप्रै अन्तर्राष्ट्रिय उपलब्धि हासिल गरेको छ। फिल्मले युरोपियन पोस्ट–प्रोडक्सन ग्रान्ट ह्युबर्ट बल्स फन्ड प्राप्त गरेको थियो।

त्यसै गरी २०२१ मा निर्माता अभिमन्यु दीक्षितले भारतको एनएफडिसी फिल्म बजारमा रोटरेड्याम ल्याब अवार्ड प्राप्त गरेका थिए भने फिल्मले फ्रान्सको कान फिल्म फेस्टिभलमा मार्चे डु फिल्मस“ग सम्बन्धित कार्यक्रमहरू, स्विट्जरल्याण्डको लोकार्नो ओपन डोर्स कन्सल्टेन्सी र बंगलादेशको वेस्ट मिट्स इस्ट स्क्रिनप्ले ल्याबमा सहभागिता जनाएको थियो।

आचल शर्मा, निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईं, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, अविरलप्रताप अधिकारीलगायतका कलाकारले अभिनय गरेको फिल्ममा आ“चल शर्माले माइली केन्द्रीय भूमिका निर्वाह गरेकी छिन् भने अभिनेत्री निशा शर्मा तीन दशकभन्दा बढी समयपछि फिल्म अभिनयमा फर्किएकी छिन्।