म्याग्दी।
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा म्याग्दीले एउटा नयाँ तर रोचक भाष्य रचना गरिदिएको छ । अभिभावकको खटनपटन र निर्देशनमा रहने सन्तानहरु परिआएको खण्डमा आफ्नो विचार र बुझाइले अभिभावकको सोचाइ र परम्परावादी मान्यतालाई नै परिवर्तन गरिदिनसक्छन् भन्ने नयाँ भाष्य रचना गर्न म्याग्दी सफल भएको हो ।
लाहुरेहरुको जिल्ला भनेर समेत चिनिने म्याग्दीका अधिकांश युवाहरु अध्ययन,रोजगारी र व्यापार व्यवसायका लागि विदेशमा छन् । तिनै विदेशमा रहेका युवाहरुले यस पटकको निर्वाचनमा गाउँमा रहेका आफ्ना अभिभावकहरुको मन जितेर भोट परिवर्तन गराई स्थापित राजनीतिक दलका उम्मेदवारहरुलाई हराउन र स्वतन्त्र उम्मेदवार महावीर पुनलाई जिताउन सफल भएका छन् ।
शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रीबाट राजिनामा दिई माघ ६ गते म्याग्दी आएर स्वतन्त्र उम्मेदवारी दिनुभएका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन स्वतन्त्र उम्मेदवारी दिएर विजयी हुने देशैभरीको एक्लो उम्मेदवार हुनुहुन्छ ।
पुन विजयी हुनुमा उहाँको व्यक्तित्व,प्रचार शैली र क्षमता मात्रै होइन देश विदेशमा रहेका म्याग्देली सन्तानहरुको महत्वपूर्ण भूमिका रहेको नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम बताउनुहुन्छ ।
“अभिभावकहरुको मत परिवर्तन गराउन सन्तानहरुको महत्वपूर्ण भूमिका रह्यो । विदेशमा रहेका आफ्ना सन्तानहरुले एक पटक आफ्नो कुरा सुनिदिन र पहिला जुन पार्टीलाई मत दिँदै आउनुभएको छ,त्यो मत यस पटक महावीर पुनलाई दिन लामो भूमिका सहित अभिभावकहरुलाई आग्रह गरेपछि जिल्लामा रहेका अभिभावकहरुले कांग्रेस,एमाले र नेकपालाई दिँदै आएको मत परिवर्तन गरी स्वतन्त्र उम्मेदवार पुनलाई दिएका कारण पुनको विजय भएको हो” पत्रकार महासंघ म्याग्दीका अध्यक्ष गौतमले बताउनुभयो ।
गौतमको यो भनाइसँग बुद्धिजीवि तथा राजनीतिक समिक्षक राजु केसी पनि सहमत हुनुहुन्छ । माउण्ट एभरेष्ट आमाविका प्राचार्य समेत रहनुभएका केसीले सधैंभरी अभिभावकको कुरा सुन्ने गरेका सन्तानहरु यस पटकको निर्वाचनमा भने आफ्ना कुरा अभिभावकलाई बुझाउन र उनीहरुको मन परिवर्तन गराउन सफल भएको बताउनुहुन्छ ।
“विदेशमा रहेका युवाहरुको बढ्दो चेतना,ज्ञान, देशको अवस्था र राजनीतिक दलका नेताहरुको क्रियाकलापका कारण बढेको नैराश्यता नै मत परिवर्तनको मुख्य कारण हो” केसीले भन्नुभयो,“वर्षौदेखि भोट दिँदै आएका राजनीतिक दल र ती दलका नेताहरुको काम र प्रवृत्तिबाट युवाहरुमा उत्पन्न भएको नैराश्यतालाई उनीहरुले आफ्ना अभिभावकहरुलाई राम्रोसँग बुझाउन सके,सन्तानको विचार र बुझाइलाई अभिभावकहरुले पनि मन पराए र उनीहरुले मत परिवर्तन गरे” प्राचार्य केसीले भन्नुभयो ।
त्यसैगरी जिल्लाको अन्नपूर्ण गाउँपालिका १ दोबाका ७१ वर्षिय झकबहादुर गर्बुजाले विदेशमा रहेका आफ्ना छोराले यस पटक महावीर पुनलाई भोट दिन आग्रह गरेपछि आफूले पहिला भोट दिँदै आएको पार्टीलाई नदिइ पुनलाई नै भोट दिएको बताउनुभयो । “वर्षौवर्षदेखि एउटै पार्टीलाई भोट दिनुभयो,खै के पाउनुभयो र ? तपाइँहरु गाउँमा दुःख गर्ने,हामीले विदेशमा रातदिन नभनी काम गर्नुपर्ने अवस्था परिवर्तन भएन । यस पटक भोट परिवर्तन गर्नुहोला बुबा ! छोराको यो भनाइले आफ्नो मन छोय पछि भोट परिवर्तन गरेर महावीर पुनलाई हाँले” उहाँले भन्नुभयो ।
राजनीतिक दल र नेताहरु प्रतिको नैराश्यता र सन्ततीहरुको दवावका कारण यस पटक म्याग्देली जनताले मत परिवर्तन गरेर भारी मतले स्वतन्त्र उम्मेदवार महावीर पुनलाई जिताएका छन् ।
प्रतिनिधि सभा सदस्यका लागि एउटा मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा पुन १४ हजार नौ सय ३१ को फराकिलो मतान्तरसहित निर्वाचित हुनुभएको हो ।
निर्वतमान शिक्षामन्त्री समेत रहनुभएका पुनले २२ हजार आठ सय ५० मत प्राप्त गर्दै विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले बताउनुभयो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले सात हजार नौ सय १९ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी(केबी)ले छ हजार छ सय ७३ मत र नेकपाका अर्जुन थापाले तीन हजार पाँच सय ३० मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत थापाले बताउनुभयो ।
निर्वाचित पुनलाई मुख्य निर्वाचन अधिकृत सुर्यबहादुर थापा, प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्य लगायत सुरक्षा समिति, निर्वाचन अधिकारी सहितको टोलीको उपस्थितिमा प्रमाणपत्र वितरण गरिएको थियो । म्याग्दीमा स्वतन्त्रसहित १२ जना चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो । म्याग्दीमा ८६ हजार तीन सय ९७ मतदाता रहेकोमा ४६ हजार दुई सय १५ मत खसेको थियो ।
‘कोर एरिया’मै आएन दललाई भोट
यसपटको निर्वाचनमा कांग्रेस,नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीलाई आफ्नो बलियो पकड भएको (कोर एरिया) भनिएका ठाउँहरुबाट नै भोट नआएपछि चिन्तित बनाएको छ । धवलागिरी गाउँपालिकाको लुलाङ, मुदी, मराङ, ताकम र मंगला गाउँपालिका र अन्नपूर्ण गाउँपालिका नेकपा एमालेका बलियो पकड र संगठन भएका क्षेत्र हुन् । एमाले नेताहरु यी क्षेत्रलाई आफ्ना कोर एरिया भन्ने गरेको भएपनि लुलाङ बाहेकका वडामा यसपटक कमजोर देखियो भने नेपाली कांग्रेसले मल्कवाङमा सबैभन्दा धेरै मत ल्याएपनि अन्य वडामा निकै खुम्चियो ।
जिल्लाभर विगतमा राम्रो मत ल्याएका दलहरुलाई प्रत्यक्षतर्फ स्वतन्त्र उम्मेदवार र समानुपातिकमा सबै वडामा रास्वपाले अग्रस्थान मत पायो । नेकपा एमालेका उम्मेदवार श्रेष्ठ, नेकपाका उम्मेदवार अर्जुनबहादुर थापाले आफ्नै वडामा अग्रता लिन सक्नुभएन भने नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारीले आफ्नो वडा रघुगंगा गाउँपालिकाको भगवती,पिप्ले र कुईनेमंगलेमा अग्रता लिनुभयो । भण्डारीको भगवती र पिप्लेको लिडले राहत मिलेपनि अन्य वडामा कमजोर देखियो ।
यहाँ मात्र होइन् धेरै जसो वडाहरुमा प्रत्यक्षमा स्वतन्त्र उम्मेदवार पुनले र समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रणी मत ल्याउँदै विजयी भए । एमाले र कांग्रेसले आफ्नो गढ मानिरहेकोमा मतको रुझान हेर्दा यसपटक दलहरुको हिसाव–किताब नराम्रो सँग बिग्रिएको देखिएको म्याग्दी बहुमुखी क्याम्पसका भूतपूर्व क्याम्पस प्रमुख कृष्णबहादुर थापाले बताउनुभयो । “यसपटक स्वतन्त्रलाई प्रत्यक्षमा र समानुपातिकमा रास्वपालाई रोजेका मतदातालाई पूरानै लयमा फर्काउन दलहरूको निकै मेहनत गर्न पनि पर्न सक्छ भने नयाँ दललाई समेत प्राप्त जनमत जोगाउने उत्तिकै चुनौती छ” थापाले भन्नुभयो ।
पालिका र वडामा आफ्ना जनप्रतिनिधिले नै मतदातालाई आश्वस्त पार्न नसक्दा उम्मेदवारले सोचेजस्तो मत पाउन नसकेका राजनीतिक समिक्षक यादव रिजालले बताउनुभयो । आशा गरेका मतदान केन्द्रबाटै स्वतन्त्र उम्मेदवार महावीर पुनले लिड गरेपछि माथि उठ्नै नसक्ने गरी दलहरुले कमजोर नतिजाको सामाना गर्नुपरेको उहाँको भनाइ थियो ।
यसपटक समानुपातिकमा रास्वपाको र प्रत्यक्षतर्फ स्वतन्त्रबाट विजयी महावीरको क्रेज र त्यसको प्रभावमा दलका उम्मेदवार परेको जानकारहरू बताउँछन् । “स्वतन्त्रलाई प्रत्यक्षमा हालेर समानुपातिकमा पार्टीलाई मत आउने दलहरूको अपेक्षामाथि नराम्रोसँग कुठाराघात भएको देखियो” रिजालले बताउनुभयो । दुईवटा प्रदेशसभा सदस्य रहेको नेकपाले त जमानत जोगाउन आवश्यक पर्ने खसेको मतको १० प्रतिशत समेत ल्याउन सकेन ।
म्याग्दीमा बि.स २०७९ सालमा नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्बीर) ले प्रतिनिधिसभा सदस्यमा २४ हजार २१ मत ल्याएर विजयी हुनुभएको थियो । उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले)का हरिकृष्ण श्रेष्ठले २० हजार १ सय ८९ मत प्राप्त गर्नुभएको थियो । धवलागिरि गाउँपालिका–१ गुर्जाको मतदान केन्द्रको मत पेटिकाबाट सुरु भएको मतगणनामा तत्कालिन समयमा निरन्तर अग्रता लिएका नेपाली कांग्रेसका गर्बुजाले यसपटक मैदान छोडेपनि नेकपा एमालेका केन्द्रिय सदस्य श्रेष्ठलाई पार्टीले उम्मेदवार बनाएको थियो।
यस पटकको निर्वाचनमा स्वतन्त्र उम्मेदवार महावीर पुनले २२ हजार ८ सय ५० मत प्राप्त गर्दै बिजयी हुदाँ प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले जम्मा सात हजार नौै सय १९ मत, नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी(केबी)ले छ हजार छ सय ७३ मत र नेकपाका अर्जुन थापाले तीन हजार पाँच सय ३० मत प्राप्त गर्नुभयो ।
जिल्लामा आफ्नो बलियो पकट मानिएका क्षेत्रमा समेत स्वतन्त्र उम्मेदवार पुनले परम्परागत दललाई ठुलो धक्का दिनुभएको बेनी नगरपालिका २ का पूर्णबहादुर खत्र्रीले बताउनुभयो । जिल्लाका सबै स्थानीय तहमा बलियो क्षेत्र मानिएका वडाहरूमा समेत निकै कमजोर मत बटुलेका कांग्रेस–एमालेलाई अचम्मित पार्दै स्वतन्त्र उम्मेदवार महावीर पुनले मतान्तर बढाएर २० हजार पार गर्नुभएको उहाँको भनाइ छ ।
आफ्नै कामले पहिचान बनाएका महावीर पुन
म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिई अत्यधिक मतले विजयी भएपछि प्रतिनिधि सभा सदस्य बन्नुभएका महावीर पुन वैज्ञानिक,अनुसन्धानकर्ता एवं समाजसेवी व्यक्ति हुनुहुन्छ । २०११ साल माघ ५ गते म्याग्दी जिल्लाको नागी गाउँमा बुबा कृष्ण पुन र आमा पूर्वी पुनको छोराका रूपमा जन्मिएका पुनलाई नचिन्ने सम्भवतः अहिले कोही छैनन् ।
पुनले सन् २०१२ मा सूचना तथा प्रविधि मार्फत देश विकासका सम्भावनाको खोज र आविष्कार गर्ने उद्देश्यले ‘राष्ट्रिय आविष्कार केन्द्र’को स्थापना गर्नुभएको थियो । उहाँ राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पनि हुनुहुन्छ ।
पुनले सन् १९८९ मा पुनले नेब्रास्का विश्वविद्यालयबाट विज्ञान शिक्षामा स्नातकोत्तर हासिल गर्नुभएको थियो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री बन्नु अघि उहाँ विरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालनका लागि आफ्नै जीवनीमा आधारित पुस्तक ‘महावीर पुन ः सम्झना, सपना र अविरल यात्रा’ बेच्दै नेपालका विभिन्न ठाउँहरुमा घुम्नुभएको थियो । हाल चितवनमा बस्दै आउनुभएका ७१ वर्षीय पुन अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त हुनुभएको थियो ।
पुनले २०५८देखि २०६४ को समयमा पोखरा, काठमाडौँ लगायत सहर बजारमा सहज रूपमा कम्प्युटर र इन्टरनेट सुविधा नभएको अवस्थामा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका विद्यालयहरूमा कम्प्युटर शिक्षाको सुरुआत र ताररहित इन्टरनेट सुविधा विस्तार गरेर संसारकै ध्यानाकर्षण गर्नुभएको थियो ।
पुनले ग्रामीण क्षेत्रमा सूचना प्रविधिको विकास र विस्तार गरेकोमा सन् २००७ मा एसियाको नोबल पुरस्कारका रूपमा चिनिने ५० हजार डलरको म्यागासेसे पुरस्कार प्राप्त गर्नुभयो । त्यसका साथै पुनले सन् २००२ मा अशोका फेलोसिप, इन्टरनेट हलअफ फेम, नेपाल सरकारबाट भवन कृत्तिरत्नसहित रु १० लाख नगद र गण्डकी प्रदेश सरकारबाट गण्डकी रत्न अवार्ड प्राप्त गर्नुभएको छ ।












प्रतिक्रिया