कर्णालीमा किन कमजोर रास्वपा

18.99k
Shares

सुर्खेत।

 प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ भएको निर्वाचनको मतगणना लगभग सक्किएको छ। निर्वाचन परिणामले नयाँ पुस्ता, युवा अनुहार र वैकल्पिक शक्तिका रुपमा उदाएको पार्टीलाई ऐतिहासिक रुपमा जिताएका छन् ।

देशैभरीको नतिजा र लहर हेर्दा २०७९ को चुनावताका स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले ३६ वर्षका युवा बालेन साहको क्रेजलाई क्यास गर्न प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सार्दै चुनावमा होमियो ।

गत भदौमा भएको जेनजी आन्दोलनका कारण असन्तुष्ट र आक्रोशित बनेको भएको ठूलो शहरी तप्का अनि युवाको भावना स्वाट्टै त्यता मोडियो र रास्वपा नामको नीलो सुनामी देशभरका मतपेटिकामा भरियो।

देशैभरी एकलौटी र एकतर्फीजस्तो नतिजा आत्मसाथ गरेको रास्वपा, १२ निर्वाचन क्षेत्र रहेका कर्णालीमा भने रक्षात्मक अवस्थामा पुग्यो जम्मा १ सिट जितेर ।

बाँकीमध्ये ५ सिटमा कांग्रेस, चार सिटमा नेपाली कम्युनिस्ट पार्टी अनि एमाले र राप्रपाले समान एक एक सिट हात पारेर कर्णालीमा आप्mनो प्रभाव र अस्तित्व कायमै रहेको प्रमाणित गर्न सफल भए ।

सामान्यतया, नेपालको राजनीतिमा जब–जब ’नयाँ शक्ति’ वा ’वैकल्पिक दल’को उदय हुन्छ, राजधानी काठमाडौँ र शहरी क्षेत्रमा त्यसको राप र ताप निकै देखिन्छ। 

तर, जब यो लहर कर्णालीका पहाड र हिमालतिर उक्लिन खोज्छ, तब यसको गति सुस्त हुन्छ र अन्ततः निर्वाचनको परिणाम ’अपेक्षित’ भन्दा निकै टाढा रहन्छ।

अहिले निर्वाचन समाप्तिसंगै कर्णालीमा रास्वपाका प्रत्यक्षतर्फका एक जनाबाहेक अरु उम्मेदवारलाई नजिताएको भन्दै समर्थकहरुले सामाजिक सञ्जालमा कर्णालीका मतदाताको राजनीतिक चेत नभएको भन्दै आलोचना र खिसिट्यूरी पनि गरिरहेका छन् ।

कर्णालीमा किन पुराना र स्थापित दलहरू नै हावी हुन्छन्? किन वैकल्पिक शक्तिहरू यहाँको भूगोलमा टिक्न सक्दैनन्? यसका केही गम्भीर र धरातलीय कारणहरू छन्।

संगठनको अभाव र ‘क्याडर’ केन्द्रित राजनीति

कर्णालीको राजनीति  प्रयोगमा भन्दापनि दलीय आस्था, व्यक्ति र संगठनमा बढी टिकेको छ। पुराना दलहरूको गाउँ–गाउँमा, टोल–टोलमा र प्रत्येक घरमा कुनै न कुनै रूपमा संगठन छ। 

नयाँ दलहरू सामाजिक सञ्जालमा बलियो देखिएपनि कर्णालीका विकट बस्तीहरूमा उनीहरूको भौतिक संगठन शून्य प्रायः छ।

कतिसम्म भने कर्णालीका कतिपय निर्वाचन क्षेत्रका बुथहरुमा दलीय प्रतिनिधिका रुपमा बस्नका पर्याप्त कार्यकर्ता रास्वपामा देखिएनन् । राजनीतिक विश्लेषक अर्जुन ऐडीले रास्वपाले भोट प्रभावपार्ने एजेन्सीहरु शहरी र ग्रामीणमा फरक पर्ने हुदा अन्य शहरी क्षेत्रमा च्यानल मिलाउदा कर्णालीमा पुग्न नसकेको बताउछन् । 

“कर्णालीका ग्रामीण भेगमा युवापुस्ता भन्दा बृद्धहरुमात्रै भएको अवस्था छ, युवा अधिकांश विदेश छन्”, उनले भने, “ राजनीति भन्दा पहिला भुगोल र यहाँ अवस्था पनि बुझ्न पर्छ ।”

चुनाव जित्नका लागि आवश्यक पर्ने विभिन्न समितिहरुका युवा नेतृत्व रास्वपाले पहुँच बनाउन नसक्दा उनीहरू पछि परे विश्लेषक ऐडी बताउँछन्।

भौगोलिक विकटता र सूचनाको पहुँच

काठमाडौँमा बसेर गरिएको वैकल्पिक राजनीतिको बहस कर्णालीको हुम्ला, मुगु वा डोल्पाका गाउँसम्म पुग्न निकै समय लाग्छ। यहाँ अझै पनि रेडियो र स्थानीय नेताहरूको कुरालाई नै अन्तिम सत्य मान्ने मतदाताको ठूलो संख्या छ।

नयाँ दलहरूले प्रयोग गर्ने ’डिजिटल प्लेटफर्म’ को पहुँच कर्णालीका धेरै ठाउँमा छैन। भएपनि सामाजिक सञ्जाल चलाउनेसम्मको सीप र चेतना नभएको जनसंख्या धेरै नै छ ।

भौगोलीक रुपमा कठिनाई भएको कर्णालीमा डिजिटल डिप्लोमेसीको अभाव भएकै कारण रास्वपाले अन्य प्रदेशको तुलनामा कर्णालीबाट मत ल्याउन नसकेको अधिवक्ता एवं मध्यपश्चिम विश्वविद्यालयका उपप्रध्यापक दुर्गा सापकोटा बताउछन्। उनले जबसम्म नेता शारीरिक रूपमा मतदाताको घरदैलोमा पुग्दैन, तबसम्म त्यहाँका जनताले उसलाई आफ्नो प्रतिनिधिको रूपमा स्वीकार गर्न कठिन मान्ने बताए ।

“कतिसम्म भने आपूmले भोट दिउँला भनेर मनस्थिति बनाएका उम्मेदवार हात जोड्दै घरदैलोमा नआए गुनासो गर्ने र चित्त दुःखाउने मात्र होइन नमागेको भोट किन दिने भन्ने निर्णयमा पुग्नेहरुपनि छन्”उनले भने, “ कर्णालीमा डिजिटल डिप्लोमेसीको अभावनै पुराना पार्टीको जीतको अवसर हो ।”

संरक्षणवादी मनोविज्ञान

कर्णालीमा राज्यको उपस्थिति कमजोर छ। जनतालाई नागरिकता बनाउनु पर्दा होस् वा बिरामी पर्दा अस्पताल लैजान, उनीहरूले वर्षौँदेखि चिनिरहेका र शक्तिमा रहेका दलका नेता–कार्यकर्ताको सहयोग खोज्छन्। 

“दुःख सुखमा काम लाग्ने त पुरानै मान्छे हुन्“ भन्ने सोचले गर्दा मतदाताहरू नयाँ र परीक्षण नभएका दलहरूमाथि भरोसा गर्न डराउँछन्। उनीहरूका लागि राजनीति ’आस्था’ मात्र होइन, ’अप्ठ्यारोमा ओत लाग्ने ठाउँ’ पनि हो।

नेतृत्वको अभाव र ’टुरिष्ट’ उम्मेदवार

वैकल्पिक भनिएका दलहरूले अक्सर चुनावको मुखमा मात्र कर्णालीमा उम्मेदवार खडा गर्छन्। ती उम्मेदवारहरू या त स्थानीयस्तरमा चिनिएका हुँदैनन्, या चुनाव सकिएपछि पुनः सहर केन्द्रित हुन्छन्। 

कर्णालीका जनताले ’आफ्नै बीचमा धुलो–मैलो खाएको’ नेता खोज्छन्। नयाँ शक्तिहरूले स्थानीय तहमा नेतृत्व निर्माण गर्नुको सट्टा माथिबाट ’इम्पोर्ट’ गर्दा त्यसलाई जनताले अनुमोदन गर्दैनन्।

मुद्दाको प्राथमिकीकरणमा चुकेको वैकल्पिक राजनीति

नयाँ दलहरूले अक्सर ’सुशासन’, ’भ्रष्टाचार’ र ’प्रविधि’का कुरा गर्छन्। यी मुद्दाहरू महत्वपूर्ण भए तापनि कर्णालीका मतदाताका लागि ’सडक’, ’चामल’, ’रोजगारी’ र ’आधारभूत स्वास्थ्य’ पहिलो प्राथमिकता हो। 

वैकल्पिक दलहरूले यी आधारभूत आवश्यकतालाई सम्बोधन गर्ने ठोस योजना र विश्वास दिलाउन नसक्दा उनीहरू केवल ’शहरिया वौद्धिक विलास’को रुपमा मात्र सीमित हुन पुगेका छन्।

’टेस्टेड’ दलहरूको बलियो प्रभाव

कर्णाली जनयुद्धको आधार इलाका र कम्युनिस्ट आन्दोलनको गढको रूपमा परिचित छ। यहाँका धेरै मतदाताहरू वैचारिक रूपमा भन्दा पनि पारिवारिक र भावनात्मक रूपमा पुराना दलहरूसँग बाँधिएका छन्। 

यो भावनात्मक पर्खाल भत्काउन नयाँ शक्तिले जुन खालको समर्पण र धैर्यता देखाउनुपर्ने हो, त्यो अहिलेसम्म देखिएको छैन।

कर्णालीको राजनीतिमा वैकल्पिक शक्तिको प्रवेश असम्भव भने छैन। तर, त्यसका लागि सामाजिक सञ्जालको ’लाइक र सेयर’ बाट बाहिर निस्केर कर्णालीको कठिन भूगोल, सांस्कृतिक संवेदनशीलता र जनताको दैनिक दुःखसँग जोडिनु आवश्यक रहेको बत्ताउँछिन् काँग्रेस नेत्री तथा निवर्तमान सांसद कान्तिका सेजवाल।

यसअघि जुम्लाको चन्दननाथ गाउँपालिकाको मेयर समेत भैसकेकी सेजवालले जबसम्म नयाँ दलहरूले कर्णालीलाई ’भोट बैङ्क’ मात्र नभई ’साझा भविष्य’को रूपमा हेर्दैनन्, तबसम्म निर्वाचनको परिणाम पुरानै शक्तिको पक्षमा रहिरहने बताइन ।