उदयपुर ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले २०८२ माघदेखि चैत्रसम्मको ३ महिनाको अवधिमा लागु औषधसहित १० जनालाई पक्राउ गरेको छ भने २ थान मोटरसाइकल पनि बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले २०८२ माघ , फागुन र चैत्र महिनामा अलग अलग रुपमा जारी गरेको प्रेस विवरण अनुसार माघमा ७ जना, चैत्रमा ३ जना लागुऔषध कारोवारी तथा सेवनकर्ता पक्राउ परेका छन । फागुनमा लागु औषधसहित कोही पनि पक्राउ परेको छैनन् । लागुऔषध ओसार पसारमा प्रयोग गरिएको २ थान मोटरसाइकल समेत सो अवधिमा नियन्त्रणमा लिइएको विवरणमा उल्लेख गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुर र मातहतका प्रहरी इकाईहरुको सहयोगमा २०८२ माघमा १ सय ४६ किलोग्राम गाँजा सहित ५ जनालाई पक्राउ गरेको छ । १ ग्राम २०० सय मिलिगम ब्राउन सुगर सहित १ जनालाई, फेनारगन ५० एम्पुल,बुप्रिनोरफिन ५० एम्पुल,डाइजेपाम ५० एम्पुल गरी १सय ५० एम्पुल लागुऔषध र मोटरसाइकलसहित १ जनालाई पक्राउ गरेर आवश्यक कार्वाही भैरहेको जिल्ला प्रहरी कार्यालयद्धारा जारी विवरणमा उल्लेख गरिएको छ ।
प्राप्त विवरणमा २०८२ फागुन महिनामा भने कुनै पनि लागुऔषध, प्रयोगकर्ता वा कारोबारी पक्राउ नपरेको र चैत्रमा भने १ ग्राम ७०० मिलिग्राम ब्राउनसुगर, गाजा १० केजी सहित १ जना पक्राउ परेको, ८९० क्याप्सुलसहित १ जना र ५३० ट्याब्लेट निट्राजापेम सहित १ जना पक्राउ गरी आवश्यक कार्वाही भैरहेको छ ।
उदयपुरमा लागुऔषध कारोवारी प्रयोग र सेवनकर्ताहरु बढ्दै गएको र धेरै युवाहरु लागुऔषधको कुलतमा फसेर जीवन बर्वाद गरिरहेको पाइएको छ । केही युवाहरुलाई विगतमा सुधार गृहमा राखिएको छ । उदयपुरको बेलका नगरपालिकाको रामपुर र त्रियुगा नगरपालिकाको रातमाटेमा रहेको सुधार गृहमा कुलतमा फसेका युवाहरु रहेका छन् ।
उदयपुरमा खासगरी लागुऔषध सिरहाको लाहान बजार क्षेत्रबाट भित्रिने गरेको छ । लाहानमा भारतीय सीमावर्ती क्षेत्रबाट लागुऔषध ओसार पसार हुने गरेको विगतको अध्ययन अनुसन्धानले देखाएको छ । सीमामा प्रहरीको आँखा छलेर चोरबाटो हुँदै लागुऔषध सेवन कर्ता र कारोवारीहरुले लाहानमा ल्याउने गरेका छन्।
प्रहरीले अवैध बाटोबाट आउने लागु औषध तथा अन्य सामानहरु ल्याउन कडाई गरेको र भारतीय भूमिबाट ल्याइने प्राय सबै सामानको झोला चेक जाँच गर्ने गरिन्छ । भन्सार कार्यालय रहेको वा सुरक्षाकर्मीहरु रहेको नाकाबाट आवतजावत नगरी अन्य चोरबाटोबाट लागुऔषध ओसारपसार गरेर लाहान ल्याउने गरिन्छ । लाहानबाट उदयपुर, सिराहा, सप्तरी, सुनसरी तथा अन्य जिल्लामा कारोबारीहरुले तिरण गर्दै लैजाने गरेको बताइन्छ ।
उदयपुरमा प्रहरीले यस्ता लागुऔषध कारोवारी, प्रयोगकर्ताहरुलाई सुक्ष्म रुपले अध्ययन गरेर विभिन्न नाकामा खटिएर चेकजाँच गरेर पक्राउ गर्ने गरेको छ । यतिमात्र होइन लागुऔषधको सेवनले हुने हानी नोक्सानीकाबारेमा पनि सचेतना अभियान सञ्चालन गर्नुका साथै विभिन्न पालिकाको वडामा, टोल विकास संस्थामा, विद्यालयहरुमा तथा विभिन्न संघसंस्था मार्फत पनि लागुऔषधका विरुद्धमा विभिन्न प्रकारको अभियान सञ्चालन गरेर युवाहरुलाई सचेत गराउने कार्य गरिहरेको छ।
जिल्ला प्रहरी कार्यालयले अपराध जन्य गतिविधि न्युनिकरणकालागि गस्ती निगरानी तथा सूचना संकलन, विभिन्न स्थान र समयमा जनचेतना मूलक कार्यक्रम सञ्चालन, अवैध गतिविधि नियन्त्रण, सूचना विश्लेषण गर्ने गरेको जनाएकोछ ।











प्रतिक्रिया