पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव: हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना


काठमाडौँ । 

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव परेको मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ। यसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि बादल देखिएको छ। अन्य पहाडी भूभागमा आंशिक बदली र तराईका केही स्थानमा तुवाँलो लागेको छ।

आज दिउँसो हिमाली भूभागमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली र बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ। तराईका केही स्थानमा बिहान हुस्सु लाग्ने सम्भावना छ।

कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा तथा अन्य प्रदेशका हिमाली क्षेत्रमा एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। साथै कोशी र गण्डकीका पहाडी क्षेत्रमा पनि हल्का वर्षा हुन सक्ने जनाइएको छ।

आज राति तराईका केही स्थानमा तुवाँलो रहनेछ भने कोशी, गण्डकी र कर्णालीका हिमाली क्षेत्रमा बदली रहने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।