फागुन २१ को निर्वाचन स्वच्छ र भयरहित हुने : गृहमन्त्री अर्याल


दोलखा ।

ओमप्रकाश अर्यालले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराइने बताएका छन्। दोलखाको बैतेश्वर गाउँपालिकास्थित मतदान केन्द्रको निरीक्षणका क्रममा उनले विगतका कमजोरी सच्याउँदै यसपटक धाँधलिरहित निर्वाचन गराइने स्पष्ट पारे।

गृहमन्त्री अर्यालले शान्तिपूर्ण वातावरण निर्माण गर्न सम्बन्धित निकायलाई निर्देशन दिँदै सामाजिक सञ्जालमा फैलाइने मिथ्या सूचना प्रति सचेत रहन आग्रह गरे। निरीक्षण टोलीमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित सुरक्षा निकायका उच्च अधिकारी सहभागी थिए।

बैतेश्वर गाउँपालिकामा आठ मतदानस्थल र २१ मतदान केन्द्र रहेका छन् भने कुल १८ हजार ४२२ मतदाता रहेका छन्। उक्त क्षेत्रमा ९० देखि ९५ प्रतिशतसम्म मतदान हुने गरेको छ।