काठमाडौँ
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै प्रहरी प्रधान कार्यालयले अतिसंवेदनशील र ‘हेभिवेट’ प्रतिस्पर्धा हुने जिल्लाहरूमा उच्च तहका अधिकृत परिचालन गरेको छ । निर्वाचन सुरक्षालाई प्रभावकारी र विश्वसनीय बनाउन ती जिल्लामा ‘विशेष कमाण्ड’ संरचना बनाएर प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को नेतृत्वमा सुरक्षा व्यवस्था मिलाइएको हो ।
प्रहरी स्रोतका अनुसार राजनीतिक रूपमा प्रतिस्पर्धा तीव्र हुने, विगतमा सुरक्षा चुनौती देखिएका तथा रणनीतिक दृष्टिले संवेदनशील मानिएका जिल्लाहरूमा अनुभवी अधिकृत खटाइएको छ ।
झापा र इलाम जिल्लाको संयुक्त सुरक्षा कमाण्डका लागि एसएसपी गोविन्द अधिकारीलाई जिम्मेवारी दिइएको छ । त्यस्तै सर्लाही र रौतहट क्षेत्रमा एसएसपी सुरेश काफ्ले परिचालित भएका छन् ।
दोलखा जिल्लाको सुरक्षा कमाण्ड एसएसपी नान्तिराज गुरुङले सम्हाल्नेछन् भने काभ्रे र सिन्धुपाल्चोकमा एसएसपी विनोद सिलवाल खटिएका छन् । त्यसैगरी रुपन्देही र कपिलवस्तुमा एसएसपी ऋषिराम कँडेल, कास्की र स्याङ्जामा एसएसपी जनार्दन जिसी तथा डोटी र अछाम क्षेत्रमा एसएसपी राजेन्द्र प्रसाद धमलालाई जिम्मेवारी दिइएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार मतदान पूर्व, मतदानको दिन र मतगणनासम्म सुरक्षा संयन्त्र सक्रिय रहनेछ । सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण, संवेदनशील केन्द्रमा अतिरिक्त जनशक्ति परिचालन, मोबाइल गस्ती तथा आकस्मिक प्रतिकार्य टोली तयारी अवस्थामा राखिएको जनाइएको छ ।
निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने लक्ष्यसहित सुरक्षाकर्मी तीन तहमा परिचालित गरिएको प्रहरीको भनाइ छ । निर्वाचन नजिकिँदै जाँदा सुरक्षा निगरानी थप कडाइ गरिने पनि जनाइएको छ ।











प्रतिक्रिया