काठमाडौं ।
राधाकृष्ण महर्जन, २०३८ सालमा तत्कालीन माले हुँदै राजनीतिमा प्रवेश गरेका काठमाडौंका पुरानामध्येका एक कम्युनिष्ट नेताका रुपमा गणिन्छ । तिनै महर्जन यही फागुण २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा क्षेत्र नं ९ बाट चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । काठमाडौंका नेवाः समुदायका कम्युनिष्टहरुमाझ परिचित महर्जनले यसपटक नेपाली कम्युनिष्ट पार्टीबाट चुनावी मैदानमा उत्रिएका हुन्। भाषिक, सांस्कृतिक र जातीय अधिकारका लागि राजनीतिमा प्रवेश गरेका महर्जन माले, पछि नेकपा (एमाले) हुँदै अहिले नेपाल कम्युनिष्ट पार्टीमा छन्।
राजनीतिक यात्रामा वामपन्थी नेता पदमरत्न तुलाधरसंगत , विचारले उनलाई निकै प्रभावित पारेको थियो। उनको क्षेत्रमा काठमाडौं महानगरपालिका वडा नं १२, २१ र २२, चन्दागिरी नगरपालिकाका वडा नं १,१२, १३, १४ र १५, नागार्जुन नगरपालिकाको ६, ७, ८, ९ र १० पर्दछ । उनले आफ्नो प्रतिबद्धतापत्रमा स्थानीयस्तरमा रोजगारीको सिर्जना गर्ने,आयआर्जनको आधार तयार पार्नेदेखि त्यस क्षेत्रको पर्यटकीय विकास,धार्मिक, सांस्कृतिक विकास लगायत विषयमा विषय गरी ३६ बुँदे उल्लेख गरिएको छ ।
‘यो चुनावमा मैले जानेबुझेको ज्ञान, अनुभव र विचारको आधारमा जनताको सेवा गर्ने, जनहित सम्बन्धी नीति निर्माण गर्ने उद्देश्यले म चुनावमा होमिएको हुँ।’ उनले भने ‘ मैले जीवनमा के गरे भन्ने काम जनतासामु स्पष्टै छ।’ यो निर्वाचन न अद्यावधिक हो, न मध्यावधि नै हो। जेन्जी विद्रोहको पृष्ठभूमीमा हुन लागेको यो निर्वाचन जेन्जी विद्रोहको मर्म र एजेण्डा नकार्ने र त्यसलाई स्वीकार गरेर मुलुकमा सुशासन, शासकीय बेथिति अन्त्य गर्नुपर्ने भन्नेहरुको बीचको निर्वाचन रहेको पनि उहाँको भनाई रहेको छ । ‘२०६२÷०६३ सालको आन्दोलनको उपलब्धि स्वरुप प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी र समाजवाद उन्मुख संविधानको रक्षा र सुदृढीकरण गर्दै सुशासन, समृद्धि, सामाजिक न्यायसहित जनताको आवाज संसद्मा घन्काउन प्रतिबद्ध छु ।’ उम्मेदवार महर्जनले भने।











प्रतिक्रिया