बर्लिन फिल्म फेस्टिभलको २०२६ संस्करण यतिबेला गम्भीर राजनीतिक विवादको केन्द्रमा पुगेको छ।
गाजामा जारी युद्ध र त्यससम्बन्धी विषयमा जुरीको मौनतालाई बचाउ गर्दै महोत्सवले सार्वजनिक गरेको वक्तव्यपछि विश्व फिल्म क्षेत्रभित्र तीव्र प्रतिक्रिया देखिएको हो। ८० भन्दा बढी अन्तर्राष्ट्रिय फिल्मकर्मी तथा कलाकारहरूले खुलापत्र सार्वजनिक गर्दै बर्लिनालेले प्यालेस्टिनीहरूको अवस्थाबारे स्पष्ट धारणा नलिएको मात्र होइन, गाजाप्रति ऐक्यबद्धता जनाउने कलाकारहरूमाथि दमन र सेन्सर गरेको आरोप लगाएका छन्।
खुलापत्रमा हस्ताक्षर गर्ने प्रमुख व्यक्तित्वहरूमा स्पेनी अभिनेता हाभिएर बार्देम, बेलायती अभिनेत्री टिल्डा स्विन्टन, पोर्चुगिज निर्देशक मिगेल गोमेस, अमेरिकी फिल्म निर्देशक एडम म्याकके, बेलायती निर्देशक माइक ली, बेल्जियन निर्देशक लुकास धोन्ट, अमेरिकी कलाकार गोल्डिन, बेलायती अभिनेता टोबायस मेन्जिजलगायत रहेका छन्। उनीहरू सबै वर्तमान वा पूर्व बर्लिन फिल्म फेस्टिभलका सहभागी हुन्। पत्रमा उनीहरूले प्यालेस्टिनीहरूमाथि भइरहेको भीषण हिंसामा सांस्कृतिक संस्थाहरू तटस्थ बस्न नमिल्ने जनाउ“दै कडा आपत्ति जनाएका छन्।
मंगलवार सार्वजनिक उक्त खुला पत्रमा बर्लिनालेले प्यालेस्टाइन समर्थक कलाकारहरूलाई निगरानीमा राखेको, मञ्चबाट अभिव्यक्ति दिएपछि हप्काएको र जर्मन संघीय प्रहरीस“ग सहकार्य गरेको आरोपसमेत लगाइएको छ। गत वर्ष महोत्सवको मञ्चबाट प्यालेस्टिनीहरूको जीवन र स्वतन्त्रताको पक्षमा बोलेका एक फिल्मकर्मीमाथि अनुसन्धान भएको र उनको अभिव्यक्तिलाई भेदभावपूर्ण भनेर व्याख्या गरिएको दाबी पनि पत्रमा गरिएको छ।
केही कलाकारले महोत्सवमा असुरक्षा र त्रासको वातावरण महसुस भएको बताएका छन्। विम वेन्डर्सको अभिव्यक्ति पनि मुख्य कारण बनेको छ। उनले हालै फिल्म निर्माण राजनीतिभन्दा विपरीत विषय भएको भन्दै कला र राजनीतिलाई अलग राख्नुपर्ने बताएका थिए। यस अभिव्यक्तिले विश्व फिल्म क्षेत्रमा व्यापक बहस सिर्जना गरेको छ। त्यसपछि बर्लिनाले प्रमुख ट्रिसिया टटलले कलाकारहरूलाई हरेक राजनीतिक मुद्दामा धारणा दिन बाध्य पार्न नहुने स्पष्ट पारिन्, तर त्यसले आलोचना कम गर्न सकेन।
खुला पत्रमा जर्मन राज्यको भूमिकामाथि पनि प्रश्न उठाइएको छ।
जर्मनी सरकारले इजरायललाई समर्थन गरिरहेको र त्यसले गाजामा भइरहेको हिंसामा अप्रत्यक्ष भूमिका खेलेको आरोप पत्रमा उल्लेख छ। हस्ताक्षरकर्ताहरूले बर्लिनाले जस्तो राज्य–समर्थित सांस्कृतिक संस्थाले अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्नुपर्ने, प्यालेस्टिनीहरूको जीवन, गरिमा र स्वतन्त्रताको अधिकारलाई समर्थन गर्नुपर्ने तथा इजरायलको गाजामा भइरहेको कारबाहीको स्पष्ट निन्दा गर्नुपर्ने माग गरेका छन्।
पत्रमा अन्तर्राष्ट्रिय फिल्म जगत्मा परिवर्तनको लहर चलिरहेको दाबी पनि गरिएको छ। हजारौ“ फिल्मकर्मीले कथित रूपमा केही इजरायली संस्थास“ग सहकार्य नगर्ने घोषणा गरिसकेको उल्लेख गर्दै, विभिन्न प्रतिष्ठित महोत्सवहरूले पनि सांस्कृतिक बहिष्कारको समर्थन गरेको दाबी गरिएको छ। बर्लिनालेले विगतमा इरान र युक्रेनका विषयमा स्पष्ट धारणा सार्वजनिक गरेको उदाहरण छ। त्यसैले गाजाको विषयमा मौन बस्नु दोहोरो मापदण्ड भएको आरोप लगाइएको छ।
यस घटनाले विश्व फिल्म क्षेत्रमा कला र राजनीति अलग हुन सक्छन् कि सक्दैनन् भन्ने पुरानो बहसलाई पुनः तीव्र बनाएको छ। केहीले महोत्सवलाई तटस्थ सांस्कृतिक मञ्चका रूपमा हेर्नुपर्ने तर्क गरिरहेका छन् भने अर्का पक्षले कला सधैं राजनीतिक सन्दर्भस“ग जोडिएको हुने भन्दै स्पष्ट नैतिक अडान लिनुपर्ने माग गरिरहेका छन्। बर्लिनाले २०२६ गत १२ देखि २२ फेब्रुअरीसम्म जारी रहने छ। तर यसको वरिपरि चर्किएको विवादले महोत्सवको प्रतिष्ठा, स्वतन्त्रता र भूमिकाबारे गम्भीर प्रश्न खडा गरेको छ।











प्रतिक्रिया