काठमाडौं ।
मानव बेचबिखन तथा ओसारपसार अनुसन्धान ब्युरोले मानव बेचबिखन तथा ओसारपसार मुद्दासँग जोडिएको प्रकरणमा दुई जनाविरुद्ध सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) कसुरमा मुद्दा दायर गरेको छ। ब्युरोका अनुसार जिल्ला रुकुम पश्चिम बाफिकोट गाउँपालिका–२ घर भई हाल काठमाडौं बस्दै आएका कलबहादुर बस्नेत मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पुर्पक्षका लागि कारागार कार्यालय डिल्लीबजारमा थुनामा छन्।
सोही मुद्दाका अर्का प्रतिवादी रुकुम पूर्व सिस्ने गाउँपालिका–५ घर भई हाल काठमाडौं बस्ने अमित बस्नेत भने फरार रहेका छन्। अनुसन्धानका क्रममा प्रतिवादीहरूले करिब २५० जना नेपाली नागरिकलाई अवैध बाटो प्रयोग गरी विभिन्न देश हुँदै मानव तस्करीका रूपमा अमेरिका पुर्याएको खुलेको ब्युरोले जनाएको छ। केही व्यक्तिलाई अमेरिका लैजाने प्रलोभन देखाएर विभिन्न देशमा अलपत्र पारिएको, मानव बेचबिखन, ठगी तथा वैदेशिक रोजगार ठगीसम्बन्धी कसुरसमेत गरेको आरोप छ।
उक्त गैरकानुनी क्रियाकलापबाट आर्जित रकममध्ये केही नगद तथा केही विभिन्न बैंक खातामार्फत जम्मा गराई शुद्धीकरण गरिएको देखिएको जनाइएको छ। सोही आधारमा प्रतिवादीहरूविरुद्ध सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४को दफा ३(१) का खण्ड (क), (ख) र (ग) तथा उपदफा (३) बमोजिम कसुर कायम गरिएको छ। ब्युरोका अनुसार कलबहादुर बस्नेतको नाममा विभिन्न बैंक खातामा जम्मा गरिएको ७० करोड ६० लाख ५३ हजार ७२२ रुपैयाँ ३३ पैसा बिगो कायम गरिएको छ।
त्यस्तै, अमित बस्नेतको नाममा २७ करोड ४५ लाख २९ हजार २८ रुपैयाँ ९४ पैसा बिगो कायम गरिएको छ। दुवै प्रतिवादीको हकमा जम्मा बिगो ९८ करोड ५ लाख ८२ हजार ७५१ रुपैयाँ २७ पैसा पुगेको छ। उक्त ऐनको दफा ३०(१) बमोजिम बिगोको दोब्बर जरिवाना तथा कसुरको मात्रा अनुसार दुई वर्षदेखि १५ वर्षसम्म कैद सजाय मागदाबी गरिएको छ।
साथै, दफा ३४ बमोजिम प्रतिवादीहरूको नाममा रहेको घरजग्गा, बैंक मौज्दात तथा बिमा रकम जफत गर्नसमेत माग गरिएको छ। उक्त मुद्दा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमार्फत मिति २०८२ फागुन ४ गते काठमाडौं जिल्ला अदालत, बबरमहलमा दायर गरिएको ब्युरोले जनाएको छ।











प्रतिक्रिया