काठमाडौँ
नेपाल र श्रीलंकाबीच अन्तरदेशीय डिजिटल भुक्तानीलाई सहज, सुरक्षित र छिटो बनाउन क्रस–बोर्डर क्यूआर भुक्तानी सेवा सुरु गरिएको छ । यस सेवामार्फत अब श्रीलंका भ्रमण गर्ने नेपाली यात्रुले कनेक्टआईपीएस तथा अन्य मोबाइल बैंकिङ एप प्रयोग गरेर श्रीलंकाका ४ लाखभन्दा बढी लंका क्यूआर मर्चेन्टमा स्क्यान गरी सजिलै भुक्तानी गर्न सक्नेछन् ।
श्रीलंकाको कोलम्बोमा आयोजित विशेष कार्यक्रममा नेपाल राष्ट्र बैंक, श्रीलंका केन्द्रीय बैंक, नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल), लंका पे तथा दुवै देशका बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा सेवाको औपचारिक घोषणा गरिएको हो ।
यो पहललाई दक्षिण एशियाली देशहरूबीच डिजिटल भुक्तानीको क्षेत्रीय अन्तरआबद्धताको महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ । यसले सुरक्षित, रियल–टाइम तथा अन्तरआबद्ध भुक्तानी प्रणालीमार्फत नेपाल र श्रीलंकाबीचको पर्यटन, व्यापार र आर्थिक सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।
हाल प्रारम्भिक चरणमा हिमालयन बैंकबाट जारी गरिएका डलर कार्ड प्रयोगकर्ताले कनेक्टआईपीएस एपमार्फत श्रीलंकामा क्यूआर स्क्यान गरेर भुक्तानी गर्न सक्नेछन् । आगामी दिनमा अन्य मोबाइल बैंकिङ एपहरूमा पनि यो सुविधा विस्तार गरिने जनाइएको छ ।











प्रतिक्रिया