काठमाडौँ
देशभरका किसानलाई डिजिटल र प्रिमियम कृषि सेवा उपलब्ध गराउन एनसेल र डिजिटल कृषि प्लेटफर्म सुपर कृषकले सहकार्य गरेका छन् । यो सहकार्यको मुख्य उद्देश्य मोबाइल फोनमार्फत सहजै सबै किसानसम्म आधुनिक कृषि सेवा उपलब्ध गराउनु रहेको छ ।
यो सहकार्य नेपालको कृषि क्षेत्रलाई डिजिटल बनाउने यात्रा तथा कृषि क्षेत्रमा रहेको डिजिटल असमानता घटाउने दिशामा ऐतिहासिक कदम हो । हालसम्म देशका ३० हजारभन्दा बढी किसान सुपर कृषक प्लेटफर्ममा दर्ता भइसकेका छन् ।
यस प्लेटफर्ममार्फत अनलाइन कृषि तालिम, कृषि डाक्टर, तथा कृषि चीना (स्याटेलाइट अनुगमन) जस्ता डिजिटल उपकरण र सेवाहरू उपलब्ध हुन्छन्, जसले किसानलाई आफ्नै मोबाइल फोनमार्फत वास्तविक समयमै कृषि परामर्श, रोगकीरा तथा बाली समस्या पहिँचान, र बाली अनुगमनसम्बन्धी जानकारी प्राप्त गरी स्वमुल्यांकन गर्न सक्षम बनाउँछ ।
यो सहकार्यले गर्दा देशका प्रत्येक जिल्लाका किसानले आफ्नो मोबाइल फोनमार्फत उन्नत, सुलभ र स्थानीय आवश्यकता अनुकूल कृषि परामर्श प्राप्त गर्न सक्ने हुने छन् । उच्च पहाडदेखि तराईका फाँटसम्म अब किसानका हात हातमा विशेषज्ञको सल्लाह सुझाव अनि आधुनिक प्रविधिको पहुँच सुनिश्चित भएको छ ।
एनसेलको बृहत् नेटवर्क पहुँच र लाखौँ सक्रिय ग्राहक भएकाले अब सुपर कृषकका प्रिमियम सेवाहरू आम किसानलाई एक भ्यालु एडेड दूरसञ्चार सेवाका रूपमा उपलब्ध भएको छ । योसँगै नेपालमै पहिलो पटक किसानले भ्वाइस, डेटा वा एसएमएस सेवा लिए झैँ सहज रूपमा आफ्नो मोबाइल ब्यालेन्सबाटै कृषि सेवाको लाभ उठाउन सक्ने भएका छन् ।
किसानले सुपर कृषक एप मार्फत यो सेवा लिन सक्छन् । यस एपमा विभिन्न अवधिका सदस्यता प्याकेजहरु उपलब्ध छन् । एक वर्षको प्याक किस्ताबन्दीमा लिन चाहनेले प्रत्येक तीन दिनमा १३ रुपियातिर्दै वार्षिक १,५६० रुपियाखर्चिनुपर्नेछ । त्यस्तै छ महिनाका लागि प्रत्येक तीन दिनमा १४ रुपियाँ भुक्तानी गरी कुल ८४० रुपियाँ तिर्नुपर्नेछ ।
एकमुष्ट भुक्तानी गर्ने किसानले भने छ महिनाको लागि ७५६ रुपियाँ तथा एक वर्षको लागि १,२४८ रुपियातिरेर सेवा लिन सक्छन्। आफुलाई उपयुक्त सेवा लिएपछि लागू हुने शुल्क मेन ब्यालेन्सबाट कटौती हुन्छ।
किसानहरूले प्रिमियम सेवाअन्तर्गत आधुनिक कृषि प्रविधिबारे विस्तृत तथा चरणबद्ध सिकाइ सामग्री समेटिएका तालिम मोड्युलहरूको लाभ उठाउन सक्छन्। त्यस्तै कृषि डाक्टर सुविधा मार्फत कृषकहरूले ८०० भन्दा बढी बालीका रोग किरा तथा अन्य समस्याहरूको पहिचान एआई मार्फत गर्न सक्छन्। यो सेवाले बाली समस्या पहिचान गरिसकेपछि आवश्यकता अनुसार समाधानका उपायहरू पनि सुझाउँछ । त्यस्तै किसानहरूले स्थानीय भाषामै तथ्यमा आधारित व्यक्तिगत परामर्श आफूलाई आवश्यक परेको समयमा प्राप्त गर्न सक्छन् ।
एनसेल र सुपर कृषकले यो सेवा अबको एक वर्षमै १ लाख २० हजारभन्दा बढी किसानसम्म पुर्याउने लक्ष्य राखेका छन् । यो महत्त्वपूर्ण कदमले कृषि सम्बन्धी ज्ञान अभिवृद्धि गर्न, किसान र विशेषज्ञबिचको दूरी घटाउन साथै ग्रामीण नेपालमा रहेको डिजिटल खाडल कम गर्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।











प्रतिक्रिया