नेपालको पहिलो ‘सुपर वालेट’ सुविधा अब खल्तीका सबै प्रयोगकर्ताका लागि


काठमाडौँ
आइएमई खल्ती लिमिटेड (खल्ती)ले आफ्ना सम्पूर्ण प्रयोगकर्ताका लागि ‘सुपर वालेट’ सुविधा सार्वजनिक गरेको छ । ग्लोबल आइएमई बैंक लिमिटेडसँगको साझेदारीमा सञ्चालन गरिएको यो सेवा नेपालकै पहिलो यस्तो डिजिटल वालेट सुविधा भएको कम्पनीले जनाएको छ ।

यस सुविधामार्फत प्रयोगकर्ताले आफ्नो वालेटमा रहेको मौज्दात रकममा प्रत्यक्ष ब्याज प्राप्त गर्न सक्नेछन् ।

कम्पनीका अनुसार खल्ती नेपालमा ‘नियो बैंकिङ’ युगको सुरुवात गर्ने पहिलो डिजिटल भुक्तानी प्लेटफर्म बनेको छ । यसअघि यो सुविधा साविकको आइएमई पेबाट माइग्रेट भएका सीमित प्रयोगकर्ताका लागि मात्र उपलब्ध थियो । अब भने खल्तीले आफ्ना सबै केवाईसी प्रमाणित व्यक्तिगत प्रयोगकर्ताका लागि ‘सुपर वालेट’ सेवा विस्तार गरेको जनाएको छ ।

खल्तीका अनुसार सुपर वालेट अब केवल भुक्तानी गर्ने माध्यम मात्र नभई प्रयोगकर्ताका लागि आधुनिक बचत उपकरणका रूपमा विकास गरिएको छ । हाल वार्षिक २ दशमलव ७५ प्रतिशत ब्याजदर उपलब्ध गराइनेछ भने उक्त दर साझेदार बैंकले निर्धारण गर्ने मानक ब्याजदरअनुसार मासिक रूपमा परिवर्तन हुन सक्ने कम्पनीले जनाएको छ ।

सुपर वालेट सक्रिय भएपछि वालेटमा रहेको मौज्दात रकममा दैनिक आधारमा ब्याज गणना भई मासिक रूपमा स्वतः वालेटमै जम्मा हुने व्यवस्था गरिएको छ । प्रयोगकर्ताले कुनै बैंक धाउनुपर्ने वा झन्झटिलो कागजी प्रक्रिया पूरा गर्नुपर्ने आवश्यकता बिना खल्ती एपबाटै सहज रूपमा सेवा सञ्चालन गर्न सक्नेछन् ।

यो सुविधा प्रयोग गर्न प्रयोगकर्ताको खाता केवाईसी प्रमाणित हुनुपर्नेछ । साथै, केवाईसी प्रमाणित गरी कम्तीमा १० वटा सफल कारोबार गरेको वा वालेटमा रातभरि कम्तीमा एक हजार रुपैयाँ मौज्दात कायम गरेको हुनुपर्ने कम्पनीले जनाएको छ । यो सुविधा व्यक्तिगत खाताका लागि मात्र उपलब्ध हुनेछ भने पिओएस तथा मर्चेन्ट खाताहरू यसका लागि योग्य नहुने स्पष्ट पारिएको छ ।

प्रयोगकर्ताले खल्ती एपको होम स्क्रिनमा रहेको ‘सुपर वालेट’ सेक्सनमा गई ‘एप्लाई’ बटनमा ट्याप गरेर आवेदन दिन सक्नेछन् । आवेदन दिएको भोलिपल्ट बिहानसम्म सुपर वालेट सक्रिय हुने कम्पनीले जनाएको छ । साविकका आइएमई पे प्रयोगकर्ताका हकमा भने यो सुविधा पहिले नै सक्रिय रहेकाले पुनः आवेदन दिनु नपर्ने बताइएको छ ।

यस अवसरमा आइएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले नेपालमा अझै ठूलो जनसंख्या औपचारिक बैंकिङ प्रणालीको पहुँचभन्दा बाहिर रहेको उल्लेख गर्दै सुपर वालेटमार्फत उक्त असमानता सम्बोधन गर्ने प्रयास गरिएको बताउनुभयो । उहाँले गाउँका किसानदेखि सहरका साना व्यवसायी, विदेशमा रहेका श्रमिक तथा विद्यार्थीसम्म सबैको रकमले उनीहरूकै लागि काम गर्ने वातावरण सिर्जना हुने बताउनुभयो ।

रेग्मीले खल्ती अब केवल डिजिटल भुक्तानीको माध्यम मात्र नभई नेपालीलाई वित्तीय अनुशासन र बचतको संस्कार सिकाउने ‘एक्सपिरियन्स प्लेटफर्म’ का रूपमा विकास भइरहेको धारणा व्यक्त गर्नुभयो । उहाँका अनुसार यो पहल नेपालको वित्तीय लोकतन्त्रीकरण र वित्तीय साक्षरतातर्फको महत्वपूर्ण कदम हो ।

आइएमई खल्ती लिमिटेड नेपालका अग्रणी डिजिटल वित्तीय सेवा प्रदायक कम्पनीमध्ये एक हो । कम्पनीले लाखौँ प्रयोगकर्तालाई भुक्तानी, रेमिट्यान्स तथा विभिन्न बैंकिङ सुविधा उपलब्ध गराउँदै आएको छ ।