काठमाडौँ
गरिमा विकास बैंक लिमिटेड ‘बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक २०२६’ अवार्डबाट सम्मानित भएको छ । न्यू बिजनेस एज लिमिटेडद्वारा २०८३ वैशाख २५ गते शुक्रबार काठमाडौंमा आयोजित ‘न्यूबिज कन्क्लेभ एन्ड बिजनेस एक्सिलेन्स अवाड्र्स’को दशौँ संस्करणमा बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो ।
माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यतामा आयोजित अवार्ड वितरण समारोहमा आयोजकका तर्फबाट गरिमा विकास बैंकलाई सम्मान हस्तान्तरण गरिएको थियो । बैंकले आफ्ना ग्राहकलाई निरन्तर सरल, सुरक्षित, गुणस्तरीय तथा प्रविधिमैत्री सेवा प्रदान गर्दै आएको भन्दै उक्त सम्मानले संस्थाको लक्ष्यलाई थप हौसला प्रदान गरेको जनाएको छ ।
यस अवसरमा बैंकले निरन्तर साथ, सहयोग तथा विश्वास प्रदान गर्ने ग्राहक, शेयरधनी, कर्मचारी, नियामक निकाय तथा शुभेच्छुकहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ ।
गरिमा विकास बैंक यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय सम्मानबाट पुरस्कृत भइसकेको छ । भारतीय चेम्बर अफ कमर्सद्वारा २९ अगस्ट २०२५ मा आयोजित ‘इमर्जिङ एसिया बैंकिङ अवार्ड’मा ‘द बेस्ट बैंक’ र ‘बेस्ट एएसएमई इम्प्लिमेन्टेसन’ विधामा उत्कृष्ट सम्मान प्राप्त गरेको थियो । त्यस्तै, कर्पोरेट क्लब नेपालले २५ फेब्रुअरी २०२५ मा आयोजना गरेको अवार्ड समारोहमा पनि बैंक ‘द एचआरएम अवाड्र्स फर कर्पोरेट एक्सिलेन्स २०२५’ बाट सम्मानित भएको थियो ।
हाल गरिमा विकास बैंकले देशभर १२६ शाखा कार्यालय, ५१ एटिएम तथा नवीनतम डिजिटल बैंकिङ सेवामार्फत करिब ९ लाख ग्राहकलाई सरल, सुरक्षित तथा गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।











प्रतिक्रिया