स्वास्थ्य क्षेत्रमा निर्भीक कलम चलाउने दुई महिला पत्रकार सम्मानित

0
Shares

 रौतहट।

 सञ्चार उद्यमी तथा रेड टेलिभिजनकी संस्थापिका स्वर्गीय रामा यादवको पाँचौँ पुण्य तिथिको अवसरमा प्रदान गरिने “रामा यादव स्मृति पत्रकारिता पुरस्कार बाट दुई महिला पत्रकार सम्मानित भएका छन्।

रामा देवी स्मृति प्रतिष्ठानद्वारा सोमबार गौरस्थित जिल्ला समन्वय समिति रौतहटको सभाकक्षमा आयोजित कार्यक्रममा धनुषाका पत्रकार चान्दनी झा र बाराको पत्रकार शारदा पोखरेललाई नगद १६ हजारसहित कदरपत्र प्रदान गर्दै सम्मान गरिएको हो। 

कार्यक्रमका प्रमुख अतिथि तथा मिडिया काउन्सिल मधेश प्रदेशका कार्यवाहक अध्यक्ष सुरेश यादवले वर्तमान समयमा सञ्चारकर्मीमाथि विभिन्न चुनौती थपिँदै गएको उल्लेख गर्दै पत्रकारहरू आफ्नो हक–अधिकार र पेसागत सुरक्षाका लागि एकजुट हुनुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले पत्रकारलाई “आवाजविहीनहरूको आवाज” को संज्ञा दिँदै श्रमअनुसार प्रतिफल नपाउँदा पत्रकारिता क्षेत्रमा विकृति र विसंगति बढिरहेको बताउनुभयो।

जिल्ला समन्वय समिति रौतहटका सभापति रामअयोध्या प्रसाद यादवले पत्रकारितामार्फत समाजलाई सही दिशामा अघि बढाउने जिम्मेवारी पत्रकारको काँधमा रहेको बताउनुभयो।  प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले तराई–मधेश क्षेत्रमा महिला पत्रकारको संख्या न्यून रहेको अवस्थामा चुनौतीका बीच तथ्यपरक रिपोर्टिङ गरिरहेका महिला पत्रकारहरूको भूमिका प्रशंसनीय रहेको बताउनुभयो। स्वास्थ्य लगायत सामाजिक मुद्दामा निरन्तर कलम चलाइरहेका महिला पत्रकारप्रति उहाले सम्मान व्यक्त गर्नुभयो।

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष सञ्जय कार्कीले पत्रकारिता क्षेत्रमा सुधार र महिला पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापना गरिएको पुरस्कारले नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गर्नुभयो। वरिष्ठ पत्रकार प्रभात कुमार झाले पत्रकारले सही सत्य र समाजलाई सही सूचना दिन सके मात्र सम्मानित भएको आभास हुने बताउनुभयो।

सम्मानित पत्रकारद्वय झा र पोखरेलले पत्रकारिता यात्रामा भोग्नुपरेका चुनौती र संघर्ष स्मरण गर्दै कठिन परिस्थितिका बीच पनि निर्भीक रूपमा पेसामा सक्रिय रहँदा प्राप्त सम्मानले थप उत्साह मिलेको बताउनुभयो।

कार्यक्रममा रेड टेलिभिजनका संस्थापक तथा प्रतिष्ठानका संरक्षक जयप्रकाश यादवले आगामी दिनमा पुरस्कारलाई अझ व्यवस्थित र प्रभावकारी बनाउँदै महिला पत्रकारलाई थप सम्मानित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।