काठमाडौँ
नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको आयोजना तथा बागमती प्रदेश सरकारअन्तर्गत सहकारी तथा गरिबी निवारण मन्त्रालयको आर्थिक सहयोगमा भक्तपुरको नगरकोटमा आयोजित ‘सहकारी पत्रकारिता तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रम’ सम्पन्न भएको छ ।
दुई दिनसम्म सञ्चालन भएको तालिममा बागमती प्रदेशका १३ जिल्लाबाट सहभागी ४० जना पत्रकारलाई सहकारी पत्रकारिता, अनुसन्धानमूलक रिपोर्टिङ, सहकारी संकटमा मिडियाको भूमिका, सहकारी पत्रकारितामा नैतिकता, सहकारी कानुन, वर्तमान चुनौती तथा अवसरलगायत विषयमा प्रशिक्षण प्रदान गरिएको थियो ।
तालिममा पत्रकार यादव हुमागाईंले सहकारी पत्रकारिताको अवधारणा, अनुसन्धानमूलक पत्रकारिताका अभ्यास, सहकारी क्षेत्रमा देखिएका चुनौती तथा मिडियाले निर्वाह गर्नुपर्ने जिम्मेवारीबारे सहजीकरण गर्नुभएको थियो ।
त्यस्तै, राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले सहकारीका वित्तीय सूचक, प्रतिवेदनमा आधारित समाचार लेखन, सहकारी वित्तीय विवरण विश्लेषण, जोखिम संकेत पहिचान, वित्तीय स्वास्थ्य परीक्षण गर्ने तरिका तथा सहकारी संकटका वित्तीय संकेतहरूबारे प्रशिक्षण दिनुभएको थियो ।
यसैगरी, पत्रकार हिक्मत आचार्यले तथ्यजाँचको अवधारणा, तथ्यजाँच गर्ने विधि, मिथ्या सूचना र भ्रामक सूचनाबीचको भिन्नता तथा भ्रामक सूचनाका प्रकारबारे सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रमको समापन अवसरमा बागमती प्रदेश सरकारकी सहकारी तथा गरिबी निवारण मन्त्री विनु रायमाझी पौडेलले सहकारी क्षेत्रको विश्वसनीयता बढाउन तथ्यमा आधारित, जिम्मेवार तथा अनुसन्धानमूलक पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले सहकारी क्षेत्रलाई गलत प्रवृत्तिबाट मुक्त गर्न तथा सही सूचनामार्फत जनतालाई सचेत गराउन पत्रकारहरूले निष्पक्ष भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्री रायमाझीले सहकारीको सेवा प्रवाहलाई सहज बनाउन ललितपुरमा सहकारी रजिष्ट्रार कार्यालय स्थापना गरिएको जानकारी दिनुभयो । उहाँले अब सहकारीहरूले सेवा लिन प्रदेश राजधानी धाउनुपर्ने बाध्यता हटेको उल्लेख गर्दै मकवानपुर र ललितपुरबाट सेवा दिने व्यवस्था गरिएको बताउनुभयो ।
उहाँले प्रदेश सरकारले गरिबी निवारणसम्बन्धी नीति निर्माण गरेको जानकारी दिँदै उक्त नीति छिट्टै पारित गरिने बताउनुभयो । उहाँका अनुसार रसुवा, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर र ललितपुर बाहेकका बागमती प्रदेशका आठ जिल्लाका विपन्न दलित, पिछडिएको वर्ग तथा सिमान्तकृत समुदायका एक हजार घरपरिवारलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिनेछ ।
नीतिअन्तर्गत लक्षित परिवारका लागि आवास निर्माण, बिउ पुँजी उपलब्ध गराउने तथा आयआर्जनका लागि आवश्यक सिप विकास तालिम प्रदान गरिने मन्त्री रायमाझीले बताउनुभयो ।
नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष कृष्ण सारु मगरले पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि महासंघले निरन्तर काम गर्दै आएको बताउनुभयो । उहाँले पत्रकारहरूलाई विधागत ज्ञान प्रदान गर्ने उद्देश्यले सहकारी पत्रकारिता तालिम आयोजना गरिएको जानकारी दिनुभयो ।
अध्यक्ष मगरले नेपाली पत्रकारिता अहिले संक्रमणकालीन मोडमा रहेको उल्लेख गर्दै परम्परागत पत्रकारिताको प्रभाव घट्दै गएको र डिजिटल युगको पत्रकारिता तीव्र रूपमा विस्तार भइरहेको बताउनुभयो । उहाँले बदलिँदो प्रविधि तथा सञ्चार माध्यमअनुसार पत्रकारहरूले नयाँ सिप, तथ्यमा आधारित रिपोर्टिङ तथा अनुसन्धानमूलक पत्रकारितालाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
कार्यक्रमका संयोजक तथा सचिव काजी श्रेष्ठले तालिमले पत्रकारहरूलाई सहकारीको संरचना, वित्तीय अवस्था तथा जोखिम संकेतबारे बुझ्न सहयोग पुगेको बताउनुभयो । उहाँले सहकारीसम्बन्धी समाचारलाई तथ्यमा आधारित, विश्वसनीय तथा जिम्मेवार ढंगले प्रस्तुत गर्न तालिम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।











प्रतिक्रिया