काठमाडौं ।
सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन रवि खड्काले एकल अग्रता बनाएका छन् । बुधबार आरएनजीसीमा भएको खेलपछि समग्रमा ५ अन्डर १ सय ३१ स्कोरमा रविले रामे मगरलाई २ स्ट्रोकले पछि पारेका हुन् । पहिलो दिनमा उनीसँगैं रामे पनि अग्रतामा रहेका थिए ।
भुवन नगरकोटी समग्रमा २ अन्डर १ सय ३४ सहित तेस्रो स्थानमा रहे । ३६ होलको समाप्तीमा १ अन्डर १ सय ३५ को स्कोरमा दिनेश प्रजापति र सञ्जय लामा संयुक्तरुपमा चौथो स्थानमा छन् ।
३६ होलपछि १८ प्रो (व्यवसायिक) र ८ एमेच्योर खेलाडीले कट बनाएका छन् । प्रोतर्फ कुमार कामी, नेपाल नम्बर एक निरज तामाङ, धनबहादुर थापा, दीपक मगर, टंक बहादुर कार्की, रामकृष्ण श्रेष्ठ, सुमन परियार र कृष्ण मान राजबाहकले कट बनाए ।
एमेच्योरतर्फ महेन्द्र फगामी, स्वप्निल भट्टराई, प्रकृत तामाङ, सरोज थापा, किशोर बस्नेत र प्रज्वल गुरुङले अन्तिम ३६ होलको प्रतिस्पर्धाको लागि स्थान सुरक्षित गरेका छन् ।
नेपाल प्रोफेशनल गल्फर्स संघ (एनपीजीए) द्वारा आयोजित प्रतियोगिताको विजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो हुनेले १ लाख ५ हजार र तेस्रो हुनेले ८५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै चौथो र पाँचौँ स्थानका खेलाडीले क्रमश ७१ हजार र ६३ हजार पाउने छन् । शीर्ष १८ स्थानसम्म रहने प्रोफेसनल खेलाडीहरूले नगद पुरस्कार प्राप्त गर्नेछन् ।











प्रतिक्रिया